आयुष बडाल काठमाडौँ । पूर्व प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले न्याय दिनु भनेको कठिन कार्य भएको उल्लेख गर्दै अनुभव र अभ्यासबाट नै राम्रो न्याय सम्पादन हुने बताएका छन् । नेपाली कानुनी साहित्य समिति, काठमाडाैँ विश्वविद्यालय स्कुल अफ ल ले आयोजना गरेको न्यायाधीश नियुक्ति र न्याय परिषद्को भूमिका विषयक पूर्व प्रधान न्यायधीशसँगको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठले ढिलो न्याय पाउनु भनेको न्याय नै नपाउनु जस्तै भएको उल्लेख गरे। काठमाडाैँ विश्व विद्यालयमा कानुन अध्ययनरत विद्यार्थी, जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत सहभागी विद्यार्थीहरूको प्रश्नको जवाफ दिँदै उनले निष्पक्ष कार्य गर्न निस्वार्थ भावना र देश प्रेम आवश्यक पर्ने बताए । बनेपामा रहेको विद्या सागर अङ्ग्रेजी माविमा कक्षा १० मा अध्ययनरत छात्रा सिञ्जा महाँजु श्रेष्ठले बलात्कारको सिकार भएका सोझा नारीहरूले न्याय नपाइरहँदा किन अभियुक्तहरू उम्किरहेका छन् भन्ने प्रश्नमा पूर्व प्रधानन्यायाधीश श्रेष्ठले पीडितहरू नै जागरूक हुनुपर्ने तर्क गरे ।जबसम्म पीडितले प्रमाण सहित अडिग भएर प्रस्तुत हुन्छ उक्त समयमा न्याय पाउनेमा आफू विश्वस्त रहेको उनले उल्लेख गरे । संस्थागत विद्यालयमा अध्ययनरत छात्र सुवास केसीले न्यायालयमा न्याय किनबेच भई चरम भ्रष्टाचार बढेको प्रश्नमा पूर्व प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आफू स्वच्छ ढङ्गले स्वतन्त्रपुरमा कार्य सम्पादन गरेको खण्डमा भस्टाचार न्यूनीकरण गर्न सकिने उल्लेख गरे।
उक्त कार्यक्रममा काठमाण्डौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा, डिन प्राडा ऋषिकेश वाग्ले, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्का लगायतको आतिथ्यता र विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।