काठमाडौं । भदौ २४ मा आगजनी गरी ध्वस्त पारिएको कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर आजदेखि सञ्चालनमा आएको छ । आगजनी गरिएको पाँच महिनामै भाटभटेनीको स्टोर सञ्चालनमा ल्याइएको हो ।
भदौ २४ मा काठमाडौंसहित देशभर भाटभटेनीका ११ स्टोरमा पूर्णरुपमा आगजनी गरी ध्वस्त पारिएको थियो । कैयौँ स्टोरमा तोडफोड र लुटपाट गरिएको थियो । भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले माघ २४ मा पाँच महिना पूरा भएको दिनमै स्टोर पूर्णरुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए ।
“भदौ २४ मा भाटभटेनीको मुख्य वेयरहाउससहित १२ वटा स्टोरमा क्षति आगजनी गरी खरानी बनाइयो,” गुरुङले भने, “हामीले मुख्य वेयरहाउस आजभन्दा दुई महिना अघि नै सञ्चालनमा ल्यायौँ । आजदेखि कोटेश्वर स्टोर पूर्णरुपमा सञ्चालनमा आएको छ ।”
गुरुङका अनुसार भदौ २४ मा भएको आगजनीबाट कम्तिमा पनि १७ अर्बरुपैयाँ बराबरको नोक्सानी भएको छ । दसैं तिहारका लागि स्टोर गरी राखिएको इन्स्योरेन्सबाहिरका अर्बौँरुपैयाँका सामग्री आगजनी गरेर नष्ट पारिएको थियो । “भदौ २४ मा संसारमै नभएको र नगरिएको दुर्लभ घटना गराइयो,” गुरुङको भनाइ छ, “यो घटनालाई भित्री मनमा राखेका छौँ । हाम्रा सबै भाइ बहिनीले राख्नुभएको छ ।”
गुरुङलाई अहिलेसम्म पनि थाहा छैन, के कारणले भाटभटेनीमा यसरी आक्रमण गरियो, र आजगनी ।
“के कारणले भयो थाहा छैन । भाटभटेनी हजारौँलाई रोजगारी दिने संस्था हो,” उनले भने, “भाटभटेनीले दुर्गम जिल्लाका कैयौँलाई डाक्टर बनाएको छ । अस्पताल निर्माण गरिदिएको छ । मठ मन्दिर निर्माण गरिदिएको छ । तर पनि आक्रमण गरियो । यसले मनमा निकै चोट पुर्याएको छ ।”
पाँच महिनामै पुरानै अवस्थामा पुनर्निर्माण गरिएको भाटभटेनी परिसरमा उभिएर शनिबार बिहान गुरुङले भने, “अब भदौ २४ लाई बिर्सौँ, अब अघि जाऔँ । अब अघि बढ्दा के भन्ने गरेको छु भने हे भगवान् अब उप्रान्त मेरो देश नेपालमा अब यस्तो कहिल्यै नहोस् !”