अन्ततः स्वीकारे संघीय मामिलामन्त्रीले घुसका लागि गरेको बार्गेनिङ पैसाको पोको क्वार्टरमै छाडेर गएको दाबी

Nagarik Sewa 4238+ समाचार ( )
२९ आश्विन २०८२, आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मौखिक स्पष्टीकरण दिँदै मन्त्री गुप्ताले पैसा क्वार्टरमै भेटिएको स्वीकारेका हुन् । यद्यपि, सो पैसा आफूलाई फसाउनका लागि क्वार्टरमा छाडेर त्यसअनुसारको अडियो रेकर्ड गरिएको हुन सक्ने उनको दाबी छ ।

सरुवा र नियुक्ति विषयमा ७८ लाख रुपैयाँको डिल गरेको विषय बाहिरिएपछि उनीविरुद्ध ‘एक्सन’ लिने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । प्रधानमन्त्री ओलीले गुप्तासँग एक चरण कुराकानी गरिसकेका छन् । तर, उनको जवाफ चित्तबुझ्दो नभएपछि ओलीले कडा कदम चाल्ने तयारी गरेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।

‘यो विषय बाहिरिएपछि प्रधानमन्त्रीले के भएको हो भनेर मन्त्रीसँग पनि सोधपुछ गर्नुभएको छ । मन्त्रीज्यूले क्वार्टरमा पैसा छाडेर आफूअनुकूल अडियो रेकर्ड गराएर गएका हुन् भन्ने जवाफ दिनुभएको छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘तर, विषय पेचिलो बनेपछि प्रधानमन्त्री संघीय मामिला मन्त्रीविरुद्ध एक्सन लिने तयारीमा हुनुहुन्छ । शायद, झापाबाट फर्किएपछि कुनै कदम चाल्नुहुन्छ ।’

स्रोतका अनुसार उक्त अडियो गएको पुस २८ गतेको हो । मन्त्रीको जवाफ चित्तबुझ्दो नभएपछि प्रधानमन्त्री ओलीले राजीनामा गराउने तयारी गरेको स्रोतले बतायो । ‘मन्त्री विवादित भएपछि केही निर्णय आउन सक्छ । झापाबाट फर्किएपछि आवश्यक कदम चाल्नहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले थप्यो, ‘एकपटक सोधपुछ गरिसक्नुभएको छ । तर, चित्तबुझ्दो जवाफ नआएकाले राजीनामा नै गराउनेसम्मको तयारी हुनसक्छ ।’ मन्त्री गुप्ताले यस प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई समेत मुछेका छन् ।

श्रेष्ठले ल्याएका मान्छेले आफूलाई फसाउन पैसा छाडेर गएको दाबी मन्त्री गुप्ताले प्रधानमन्त्रीसँग गरेका थिए । ‘पूर्व भूमि व्यवस्था मन्त्री अघि–पछि पनि कर्मचारीको सरुवा/बढुवाका लागि आइरहन्थिन् । त्यस दिन पनि बिहान ६ बजे नै भेट्नुपर्‍यो भनेपछि समय दिएको मन्त्रीले बताउनुभएको छ,’ स्रोतले भन्यो, ‘पूर्वमन्त्रीले भेट्नुपर्‍यो भनेपछि समय नदिने कुरा पनि भएन । बारम्बार सरुवाको कुरा लिएर आइरहने भएकाले मैले गर्न सक्दिनँ भनेपछि मन्त्री क्वार्टरमा पैसाको पोको छाडेर हिँडेको दाबी मन्त्रीले गर्नुभएको छ ।’

गुप्ताले बिहान ६ बजे नै रञ्जिता र उनका मान्छेले मन्त्री क्वार्टरमा आएर पैसा छाडेर फसाउन खोजेको आरोप लगाएको स्रोतले बतायो । ‘बिहान ६ बजे नै उनले अर्को मान्छेलाई ल्याएकी थिइन् । मन्त्रीको भेटघाट कक्षमा भेट गरेपछि ती मान्छेहरूले पैसाको झोला छाडेर गएका हुन् भन्नुभएको छ,’ स्रोतले भन्यो, ‘उनीहरू हिँडेपछि मन्त्रीको सचिवालय, आर्मी र सेक्युरिटीले पैसाबारे त्यो टोलीसँग कुराकानी गरेको बताउनुभएको छ । यसै क्रममा उनीहरूले अहिले यति छाडेका छौं, काम बनेपछि अरू आउँछ भनेर आफू अनुकूल अडियो बनाएर सार्वजनिक गरेका हुन् भन्नुभएको छ ।’मन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्नका लागि ५३ लाख र भूमि आयोग कास्कीका जिल्ला अध्यक्ष नियुक्तिका लागि २५ लाख गरी ७८ लाख रुपैयाँ लेनदेन गरेको अडियो सार्वजनिक भएको थियो ।

उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ । यो विषयमा संसदमा पनि प्रश्न उठेको छ । मन्त्री गुप्ताले भने सो अडियो एआई प्रयोग गरेर बनाइएको दाबी गरेका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । उनी पर्सा क्षेत्र नम्बर- ३ बाट प्रत्यक्ष निर्वाचित नेकपा एमालेका सांसद हुन् ।

Source: Lokantar

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार