काठमाडौं । युरोपेली संघ (ईयू)ले बेल्जियमको राजधानी ब्रसेल्सस्थित आफ्नो मुख्यालयमा अफगानिस्तानको तालिबान प्रतिनिधिमण्डललाई आमन्त्रण गर्ने योजनाको व्यापक आलोचना भइरहेको छ । मानव अधिकारकर्मी तथा युरोपेली संसद्का सदस्यले यस्तो बैठकबाट तालिबान शासनलाई अन्तर्राष्ट्रिय वैधानिकता प्रदान गर्ने खतरा रहेको चेतावनी दिएका छन् । तालिबानले अफगानिस्तानमा छैटौँ कक्षाभन्दा माथिका छात्रालाई विद्यालय शिक्षामा प्रतिबन्ध लगाएको छ । महिलालाई सार्वजनिक जीवनका अधिकांश क्षेत्रबाट बाहिर राखेको छ ।
प्रस्तावित प्रतिनिधिमण्डलमा मानवताविरुद्धका अपराधको आरोप लागेका दुई वरिष्ठ तालिबान नेता समेत सहभागी रहेका जनाइएको छ । बेल्जियमको विदेश मन्त्रालयले ब्रसेल्समा हुने बैठकमा भाग लिन तालिबान प्रतिनिधिमण्डलका सदस्यलाई पाँचवटा ‘सिंगल–डे’ भिसा जारी गरिएको जनाएको छ ।
ब्रसेल्सले बैठकको मिति भने सार्वजनिक गरेको छैन । तर, बेलायती पत्रिका द गार्डियनले उक्त बैठक जुन २३ मा हुन सक्ने जनाएको छ ।