काठमाडौं। रौतहटको सदरमुकाम गौर नगरपालिका १, कानुपट्टीस्थित भित्री सडकखण्डमा सोमबार बिहान पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। सोही घटनामा ४ जना बालिका भने पौडी खेल्दै बाँच्न सफल भएका छन्।
जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार मृत्यु हुनेहरूमा इन्दल बैठाकी १३ वर्षीया छोरी आस्था कुमारी बैठा, नवल यादवकी १५ वर्षीया छोरी रजनी कुमारी यादव, र रूपा बैठाकी १५ वर्षीया छोरी मौसमी कुमारी बैठा रहेका छन्।
राजदेवी नगरपालिका–८, लक्ष्मीपुर टोलका सात जना बालिकाहरू बिहान करिब पौने ११ बजेतिर घाँस काट्न गौरतर्फ आउँदै गर्दा बाटोमा बाढीको पानी जमेको खाल्डोमा तैरिँदै जाँदा डुबेर बेपत्ता भएका थिए। सात बालिकामध्ये चार जना सकुशल तैरिन सफल भए पनि तीन जना पानीमा डुबेर बेपत्ता भएका थिए।
बेपत्ता बालिकाहरूको खोजीका लागि सशस्त्र प्रहरी बल गौर रौतहटबाट प्रहरी निरीक्षक गोपाल सहनीको कमाण्डमा ६ जना, जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी नायब निरीक्षक तुलप्रसाद पुडासैनीको कमाण्डमा दैविक प्रकोप सामग्रीसहित ७ जना, सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ११ जना र वीर दल गण पुरेनवाबाट मेजरको कमाण्डमा १९ जनाको टोली खटिएको थियो।
डुबेर बेपत्ता भएका तीनै जना बालिकालाई करिब पौने १२ बजे उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो। अस्पतालमा करिब १२ बजेर ९ मिनेटमा चिकित्सकले ईसीजी परीक्षणपछि तीनै जनालाई मृत घोषणा गरेका थिए।