काठमाडौं। बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार भएको आगलागीका कारण आइतबार र सोमबार (आज र भोलि) आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिनुभयो। शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा) मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुगेको छ ।
भ्याक्सिन राख्ने फ्रिजबाट विद्युत् सट भएर आगो लागेको र करिब तीनचार करोड क्षति भएको अनुमान गरिएको मेसु डा. सुवेदीले जानकारी दिनुभयो। यद्यपि आगलागीको वास्तविक कारण र क्षतिको विवरण पत्ता लगाउन अस्पताल विकास समितिका सदस्य डा. डक्ट धितालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिलाई जतिसक्यो छिटो प्रतिवेदन बुझाउन भनिएको मेसु डा. सुवेदीले बताउनुभयो।
अस्पतालको ओपीडी बिल्डिङमा लागेको आगो नेपालगञ्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा निभाइएको थियो। त्यसक्रममा बिल्डिङभरी पानी र जलेका नजलेका सामानहरु छरपस्ट छन् ।
त्यसलाई सफा गर्नका लागि दुई दिन आकस्मिक बाहेकका सेवा बन्द गर्नुपरेको मेसु डा. सुवेदीले बताउनुभयो । उहाँले भने, ‘अल्ट्रासाउन्ड र इमरेर्जेन्सी सेवा चालु छ । ओपीडी र ओपीडी ल्याब भने आइतबार र सोमबार बन्द गरिएको छ, ।’