अमेरिकी आक्रमणबाट इरानको विद्यालयमा १७५ जनाको मृत्यु

Nagarik Sewa 4180+ समाचार ( )
२८ फाल्गुन २०८२, बिहीबार

काठमाडौं । इरानको एक विद्यालयमा आक्रमणमा अधिकांश बालबालिकासहित १७५ जना मारिएको घटना अमेरिकी गल्तीको परिणाम भएको प्रारम्भिक अनुसन्धान रिपोर्टमा उल्लेख छ । अमेरिकी सेनाको प्रारम्भिक अनुसन्धानमा यो विषय खुलेको हो । देशको प्रतिष्ठित अखबार न्युयोर्क टाइम्सले अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यो खबर सार्वजनिक गरेको छ । फेब्रुअरी २८ मा इरानको मिनाब सहरस्थित शजराह तैय्येबा एलिमेन्टरी स्कुलमा गरिएको टोमाहक मिसाइल आक्रमण अमेरिकी गल्तीले भएको प्रारम्भिक सैन्य अनुसन्धानबाट खुलेको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा यो आक्रमण इरानले नै गरेको जिकिर गरेका थिए । त्यस दिन अमेरिका र इजरायलले इरानमाथि ठूलो आक्रमण सुरु गरेका थिए । यसको नाम ‘अपरेसन एपिक फ्युरी’ राखिएको थियो । अमेरिकाले इरानको नौसेना र रिभोलुसनरी गार्ड्सका ठेगानामा आक्रमण गरेको थियो । मिनाब सहरमा रिभोलुसनरी गार्ड्स नेभीको एउटा बेस थियो । सोही बेसको छेउमा शजराह तैय्येबा विद्यालय थियो । धेरैजसो बालबालिका रहेका विद्यालयमा गरिएको आक्रमणमा १७५ जना मारिएका थिए । यसलाई हालका दशकको सबैभन्दा ठूलो सैन्य गल्तीमध्ये एक मानिएको छ ।

कसरी भयो गल्ती ?

रिपोर्टअनुसार, अमेरिकी सेन्ट्रल कमान्डले पुरानो जानकारीका आधारमा निसाना बनाएको थियो । डिफेन्स इन्टेलिजेन्स एजेन्सीले पुरानो तथ्यांक उपलब्ध गराएको थियो । त्यसमा विद्यालयको भवनलाई सैन्य हिस्साका रूपमा देखाइएको थियो । तर, उक्त भवन सन् २०१३–२०१६ का बीचमै विद्यालयमा परिणत भइसकेको थियो ।

त्यहाँ पर्खाल लगाइएको थियो । खेलमैदान बनाइएको थियो । तीन सार्वजनिक प्रवेशद्वार थिए । र, भवनको भित्ता निलो र गुलाबी रङले रंगिएको थियो । स्याटेलाइट तस्बिरमा त्यो स्पष्ट देखिन्छ । विद्यालय पहिले सैन्य बेसको हिस्सा भए पनि पछि अलग भइसकेको थियो । पुरानो जानकारीलाई पुनः जाँच नगरिएको अनुसन्धानका क्रममा पाइएको छ । युद्धको सुरुआतमा छिटो निर्णय लिनुपर्ने हुनाले कहिलेकाहीँ यस्ता गल्ती हुने रिपोर्टमा उल्लेख छ । यद्यपि, अनुसन्धान अझै पूरा नभइसकेको र पुरानो तथ्यांक किन प्रयोग गरियो भन्ने प्रश्न बाँकी नै रहेको जनाइएको छ ।

इरानी अधिकारीका अनुसार, आक्रमणमा १७५ जनाको मृत्यु भयो । ज्यान गुमाउनेमा धेरैजसो बालबालिका र विद्यालयका कर्मचारी थिए । आक्रमणको समयमा बालबालिका विद्यालयमा पढिरहेका थिए ।इरानी मिडियाले सार्वजनिक गरेको भिडियोमा भग्नावशेषबाट बालबालिकाकाले हातगोडा र टाउको निकालिरहेका दृश्य देखिएको छ । धेरै बालबालिका भग्नावशेषमा पुरिएका थिए ।

इरानी मिडिया मेहर न्युजले एउटा भिडियो जारी गरेको छ, जसमा टोमाहक मिसाइल बेसमा खसिरहेको देखिन्छ । उक्त भिडियोलाई बेलिङक्याट र न्युयोर्क टाइम्सले भौगोलिक स्थान पुष्टि गरेका छन् । विद्यालय र सैन्य बेसमा एकैसाथ आक्रमण गरिएको स्याटेलाइट तस्बिरबाट स्पष्ट हुन्छ । मिसाइलका टुक्रामा अमेरिकी ‘मार्किङ’ भेटिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार