काठमाडौं। नेताहरूको कार्यविभाजन गर्न एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बिहान ११ बजेपछि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले केन्द्रीय नेताहरूको कार्यविभाजन गर्ने पार्टी उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको कार्यविभिाजन प्रस्तावमा छलफल गरेर निर्णय गर्ने तयारी छ ।
गत असारमा दसौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको सो पार्टीले अहिलेसम्म नेताहरूको कार्यविभाजन गर्न सकेको थिएन । जिल्ला र प्रदेश इन्चार्ज, विभाग प्रमुख, आयोग प्रमुखलगायतका विभागीय प्रमुख बन्न नेताहरूमा हानथाप छ । सङ्गठन विभागका लागि नेताहरू राजेन्द्र पाण्डे, बेदुराम भुसाल र घनश्याम भुसालले आकांक्षा राखेका छन् । तीन नेताले एउटै विभाग ताक्दा अध्यक्ष माधवकुमार नेपाललाई निर्णय गर्न कठिन भएको छ । त्यसैगरी विदेश विभाग प्रमुखमा पनि दोहोरो दाबी रहेको बुझिएको छ ।
त्यस्तै नेताहरूको चित्त बुझाउन २४ सदस्यीय स्थायी कमिटीलाई ४१ सदस्यीय बनाउने गृहकार्य भएको छ । आजकै बैठकले विगतमा पोलिटब्युरो भएका १७ नेताहरूलाई स्थायी कमिटी सदस्य नियुक्त गर्ने तयारी भएको छ । तर विधान विपरीत नेताहरूलाई स्थायी कमिटी सदस्य बनाउन लागेको भन्दै नेताहरूले फरकमत राखेका छन् ।
जति ठुलो समिति बनाए पनि पार्टीले काम गर्न सक्ने देखिएन ।