सिन्धुपाल्चोक, असार १४ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१४ मा गाउँका अग्रज तथा ख्यातिप्राप्त व्यक्तित्वहरूको योगदानको स्मरण गर्दै स्वर्गीय लालबहादुर खातीको सालिक अनावरण गरिएको छ।
राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा स्व. खातीको सालिक अनावरण गरिएको हो। स्थानीय समाजसेवी तथा वडा नं. १४ का पूर्व वडाध्यक्ष नेत्रबहादुर बस्नेतको विशेष पहल, सक्रियता र समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका–१४ का वडा अध्यक्ष उद्धव नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा डिभिजनल वन अधिकृत ओमसागर भण्डारी, ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान’ का संयोजक गोविन्द चौलागाईं, नेपाल बार एसोसिएसन सिन्धुपाल्चोक जिल्ला शाखाका अध्यक्ष भूपेन्द्रबहादुर तामाङ लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा गाउँको इतिहास, संस्कृति र पहिचान संरक्षण गर्ने उद्देश्यले समाज निर्माणमा योगदान पुर्याएका अग्रज व्यक्तित्वहरूको योगदान स्मरण गरिएको थियो। विगतमा गाउँमा पहिलोपटक बसोबास गर्ने, धार्मिक तथा सामाजिक क्षेत्रमा योगदान दिने, वन संरक्षण र समुदाय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको योगदानलाई अभिलेखीकरण गर्दै उनीहरूको सम्मानमा सालिक स्थापना गरिएको समाजसेवी नेत्रबहादुर बस्नेतले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “हाम्रो गाउँको इतिहास र पहिचान बोकेका अग्रजहरूको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यो अभियान सुरु गरिएको हो। समाज निर्माणमा योगदान दिने व्यक्तित्वहरूको सम्झना र सम्मानले भावी पुस्तालाई प्रेरणा दिनेछ।”
कार्यक्रममा स्व. लालबहादुर खातीकी नातिनी शोभा खातीले उहाँले गाउनुभएको गीत प्रस्तुत गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो। उहाँले आफ्ना पुर्खाको सम्मानमा सालिक निर्माण गर्ने कार्यमा समाजसेवी नेत्रबहादुर बस्नेतले गरेको पहलप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमका सहभागी वक्ताहरूले अग्रज व्यक्तित्वहरूको सम्मान गर्नु भनेको केवल सम्झना गर्नु मात्र नभई स्थानीय इतिहास, संस्कृति र पहिचान संरक्षण गर्नु भएको बताए। यस्ता अभियानले समाजमा योगदान पुर्याएका व्यक्तिहरूको योगदानलाई चिरस्थायी बनाउने र नयाँ पुस्तालाई आफ्नो मौलिक इतिहाससँग जोड्ने विश्वास व्यक्त गरिएको थियो।
वडा अध्यक्ष उद्धव नेपालले स्व. लालबहादुर खातीले समाजमा पुर्याउनुभएको योगदानलाई सम्मान गर्दै उहाँको सम्झनालाई जीवन्त राख्न सालिक स्थापना गरिएको बताउनुभयो। उहाँले स्थानीय इतिहास र योगदानको संरक्षणका लागि यस्ता कार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा गाउँवासीहरूले सालिकमा माल्यार्पण गर्दै स्व. खातीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। वक्ताहरूले उहाँको इमानदार व्यक्तित्व, सामाजिक योगदान र आदर्शलाई भावी पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिएका थिए।
त्यसैगरी ‘जन्मदिनलाई सत्कर्ममा जोडौँ अभियान’ का केन्द्रीय संयोजक मनोज थापा, डिभिजन वन कार्यालयका प्रमुख ओमसागर भण्डारीलगायतले अग्रज व्यक्तित्वको सम्मान गर्ने अभियानप्रति खुशी व्यक्त गर्दै यस्ता कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए।
राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर आयोजित कार्यक्रममा जन्मोत्सव पार्कमा विभिन्न जातका बिरुवासमेत रोपिएको थियो। आयोजकका अनुसार गाउँका ऐतिहासिक तथा प्रेरणादायी व्यक्तित्वहरूको योगदानलाई संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले सुरु गरिएको यो अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।