काठमाडौं। नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । राजधानीको थापाथली स्थित राष्ट्र बैंकमा सुकिला नोट साट्ने सर्वसाधारणहरू आइरहेका छन् । देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट साट्न आउनेको संख्या कम देखिएको छ ।
आइतबारबाट सुकिला नोट सटही सुरु गरेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्याकारी निर्देशक रामु पौडेलले जानकारी दिए । ‘केही सर्वसाधारणहरुले नोट सटही गरीरहनुभएको छ । सबै बैंकबाट पनि साट्न सकिने व्यवस्था गरेकोले पनि राष्ट्र बैंकमा कम भिड भएको होला,’ उनले भने, ‘सबै बैंकहरुले आवश्यकता अनुसार सुकिला नोट सटही गरी लगेका छन् । बैंकहरुमा नै साट्न पाइने भएकोले पनि राष्ट्र बैंकमा सेवाग्राही कम भएको हुनसक्छ।’