काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते देश जलाउनेहरू नेपाली हुनै नसक्ने भन्दै देशद्रोही र अपराधी भएको बताउनुभएको छ। उहाँले जेनजीहरु उक्त कार्यमा नलागेको भन्दै उक्त घटना तात्कालिक नभएर आठ दश वर्ष अघिको योजना भएको दाबी समेत गर्नुभयो।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले यस्तो बताउनुभएको हो। ‘यो तात्कालिक होइन, आठ दश वर्ष देखिको तयारी हो । देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, कुनै आन्दोलनकारी होइनन्’ ओलीको भनाइ छ । उहाँले बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका र बेचिएका तत्त्वहरूले देश चलाएको भन्दै यो नेपाली आचरण, बुद्धि, मति र अभ्यास आचरण हुनै नसक्ने बताउनुभयो।
‘संसद् भवन जलाउने काम, सरकारको मुख्यालय जलाउने काम, सर्वोच्च लगायतका अदालत जलाउने काम, त्यो ठाउँमा खोजी खोजी जलाइएको छ जहाँ खास मान्छेका मिसिल छन्’, ओलीले भन्नुभयो, ‘ट्रेन मान्छे गएको छ । कार्यालय र घर लोकेट गरिएको छ ।’