काठमाडौं । सरकार बनेको एक महिना नपुग्दै दुई मन्त्रीको पद गएको छ । गृहमन्त्री सुधन गुरुङले पनि बुधबार पदबाट राजीनामा दिएका छन् । यसअघि पदीय मर्यादाको दुरुपयोग गरेको आरोप लागेपछि श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक कुमार साहलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले बर्खास्त गरेका थिए ।
आफ्नी श्रीमतीलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाएपछि उनलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले स्पष्टिकरणको मौका नै नदिई चैत २६ मा बर्खास्त गरेका थिए । रास्वपा सभापति रवि लामिछानेको सिफारिसमा उनकै श्रीमतीको नियुक्तिसँग जोडिएकी स्वास्थ्यमन्त्री निशा मेहेतालाई सचेत गराइएको थियो ।
गुरुङले दुई माइक्रोइन्स्योरेन्स कम्पनीमा ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर सम्पत्ति विवरणमा उल्लेख नगरेको र विवादित व्यवसायी दीपक भट्टसँग साझेदारी देखिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।गत चैत १३ गते प्रधानमन्त्री बालेनले क्याबिनेट विस्तार गरेको थिए ।