मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन

Nagarik Sewa 4238+ समाचार ( )
१५ अशोज २०८२, बुधवार

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङ भन्सार कार्यालयले दुई साताको अवधिमा रु दुई अर्ब दुई करोड ९६ लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । गत ३१ भदौमा पूर्णरूपमा सञ्चालनमा आएको यहाँको कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले मङ्गलबार बिहानसम्म उक्त राजस्व सङ्कलन गरेको हो ।

यो भन्सार कार्यालयको इतिहासमै पहिलो पटक त्यति ठूलो अनुपातमा राजस्व सङ्कलन भएको हो । यहाँ दैनिक औसत भन्सार राजस्व रु १३ करोड ६६ लाख बढी अनुपातमा राजस्व सङ्कलन गर्न सफल भएको देखिएको छ । यसअघि यहाँको भन्सार कार्यालयले बर्सेनि सीमापार गर्ने उपल्लो मुस्ताङका नागरिकले आयात गर्ने घरायसी मालवस्तु राजस्व रु १० देखि १५ लाखमै सीमित रहन्थ्यो ।

यसपटक बाढीपहिरो र नदी कटानका कारण रसुवागढी र तातोपानी नाका अवरुद्ध हुँदा यहाँको नाकाबाट मालबस्तु तथा विद्युतीय सवारी आयात बढ्दो रहेको हो । सीमावर्ती स्थानीय नागरिकका लागि मात्रै सञ्चालनमा आएको कोरला नाका भन्सार विभागले पूर्णरुपमा सञ्चालनमा ल्याएसँगै कोरला नाकामा व्यापारिक चहलपहलसमेत ह्वात्तै बढेको हो ।

यस भन्सार कार्यालयमा चीनबाट कोरला नाका हुँदै भित्रिएका एक हजार १०९ विद्युतीय सवारी साधनमध्ये ९६५ को भन्सार जाँचपास भइसकेको भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए । भन्सार कार्यालय न्हेचुङमा हाल १४४ विद्युतीय सवारी साधनको भन्सार जाँचपाँस हुन बाँकी रहेको भन्सार प्रमुख खड्काको भनाइ छ ।

यसैगरी कोरला नाकाबाट मालवस्तु आयात गरिएका ३७५ मालबाहक कन्टेनरमध्ये सबैको भन्सार जाँचपाँस भई गन्तव्यतर्फ प्रस्थान गरेका भन्सार प्रमुख खड्काले उल्लेख गरे । यहाँको भन्सार कार्यालयका कर्मचारी दसैँ बिदामा घरतर्फ प्रस्थान गरिसकेका छन् ।





प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार