विराटनगर । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दाका एक जना कैदी फरार भएका छन् । फरार हुनेमा खोटाङ दिप्रुङ चुइचुम्मा–२ का २८ वर्षीय रूपक पौडेल खत्री हुन् । उनी मंगलबार राति भागेको जनाइएको छ ।
कैदी फरार भएपछि छानबिनका लागि ५ सदस्यीय समिति गठन भएको छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले त्यसका लागि सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीका डीएसपी, सशस्त्र प्रहरी बल (एपिएफ) का डीएसपी, राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टर र कारागारका नासु (सदस्य–सचिव) रहेको समिति गठन भएको बताए ।
खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । उनी भागेको हो होइन भन्ने विषयमा अझै टुङ्गो लागि नसकेको मिश्रले बताए । ‘कारागारबाट एक जना कैदी मिसिङ छन्,’ मिश्रले भने, ‘फरार भएको पनि हुन सक्छ खोजी कार्य जारी रहेको छ ।’ ‘घटना सुरक्षाको कमजोरीले हो कि, कारागार प्रशासनको कमजोरीले हो कि, खटिएको प्रहरी कर्मचारीको कमजोरीले हो भन्ने विषयमा छानबिन भइरहेको छ,’ मिश्रले भने ।
सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । कारागारमा १ हजार ८ सयको हाराहारीमा कैदीबन्दी रहेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए ।