काठमाडौं। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन् । भट्टलाई गभर्नर बनाउन सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेबिच अनौपचारिक सहमति भए पछि भट्टले पदबाट शुक्रबार राजीनामा दिएका हुन् । नागरिकको जिज्ञासामा भट्टले राजीनामा दिएको बताए।
गभर्नर महाप्रसाद अधिकारी कार्यकाल पूरा गरेर बिदा भएपछि सत्ता साझेदार प्रमुख दुई दलबिच सहमति नहुँदा गभर्नर नियुक्तमा ढिलाई भएको थियो ।सरकारले तीन साताअघि नै गभर्नर नियुक्त गर्नका लागि सिफारिस समिति बनाएको थियो।
तर, बुधबार साँझ प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई राष्ट्र बैंकको गभर्नर बनाउने समझदारी भएको थियो।
अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिले संभवत आजै भट्टलगायत अन्य दुई जनाको नाम गभर्नरमा सिफारिस गर्ने छ। त्यसपछि मन्त्रीपरिषद् बैठकले भट्टलाई गभर्नर नियुक्त गर्ने तयारी छ।