जनकपुरधाम । सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको चौथो दिन आज तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट एकहजार एक भार लिएर साधुशन्त राममन्दिरमा पुगेर तिल्कोत्सव मनाउने गरिन्छ ।
तिल्कोत्सवमालाई मैथिलीमा छेका भनिन्छ । विवाह हुनुअघि बेहुली पक्षले बेहुला अर्थात बरलाई भार लिएर पुगि तिल्काउने (टीकाटालो) गर्ने विधि हुन्छ ।दहीचुरा, खिरपुरी, विभिन्न मिठाइ, फलफूल, लताकपडासहित १००१ भार जानकी मन्दिरबाट बाजागाजासहित साधुशन्त जनकपुरकै राम मन्दिरमा पुग्ने गर्दछन् ।
भारको नेतृत्व अर्थात राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्त तपेश्वर दास गर्ने गर्छन् भने रामको बुबा अर्थात राजा दशरथको भूमिकामा राममन्दिरका महन्त राम गिरी रहने परम्परा छ ।यही मंसिर ४ गतेदेखि सुरु भएको विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन, दोस्रो दिन मंसिर ५ गते फूलबारी लिला र मंसिर ६ गते धनुष यज्ञ मनाइएको थियो ।
त्रेता युगमा जस्तै प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन भगवान राम र आदर्शनारी सीताको डोलालाई सोयम्बर गरी विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।