काठमाडौं। बुधबार इटहरीमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशमा मौलाएको निराशा र राम्रो काम गर्नेलाई अपमानित गर्ने प्रवृत्तिको अन्त्य गर्न ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको घोषणा गर्नुभएको छ। उहाँले आफ्नो बर्खास्ती, देशको वर्तमान अवस्था र भविष्यको राजनीतिक मार्गचित्रबारे महत्वपूर्ण धारणाहरू सार्वजनिक गर्नुभएको हो।
घिसिङले आफ्नो नयाँ अभियानको मुख्य उद्देश्य देशमा आशा जगाउनु र आत्मविश्वास बढाउनु रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘उज्यालो नेपाल भनेको बत्तीको उज्यालो मात्र होइन, यो हरेक क्षेत्रमा रहेको अँध्यारो हटाएर समृद्धि, सुशासन र सामाजिक न्यायको उज्यालो छर्ने अभियान हो।’
घिसिङले देशमा राम्रो काम गर्ने व्यक्तिलाई पुरस्कृत गर्नुको साटो अपमानित गर्ने र पदबाट हटाउने गलत प्रवृत्ति हाबी भएकोमा कडा आलोचना गर्नुभयो। उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, ‘लोडसेडिङ अन्त्य गर्ने, घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजाने र भारतमा बिजुली निर्यात गर्ने जस्ता कामको पुरस्कारस्वरूप मलाई बर्खास्त गरियो।’
पछिल्लो समय देशका विभिन्न भागमा अघोषित लोडसेडिङ बढेको प्रति गुनासो आएको उल्लेख गर्दै घिसिङले यस्तो हुनु दुःखद भएको बताउनुभयो।