आजको प्रतिनिधिसभाको बैठकमा पाँच अध्यादेश स्वीकृतिका लागि पेस गरिने

Nagarik Sewa 4424+ समाचार ( )
२१ फाल्गुन २०८१, बुधवार

काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । सचिवालयले बैठकको सम्भावित कार्यसूची तयार गरे अनुसार आज भूमिसम्बन्धी बाहेक सरकारले ल्याएका अन्य पाँच अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ । सत्तारुढ दलहरुले अध्यादेश स्वीकृतिका लागि आफ्ना सांसदहरूलाई ह्विप जारी गरिसकेका छन् । प्रतिनिधिसभामा काँग्रेसका ८८ र एमालेका ७८ सांसद छन् । भूमिसहित ६ अध्यादेश राष्ट्रपतिबाट जारी भएको एक महिना बित्दा पनि सरकारले स्वीकृतिका लागि संघीय संसद्का दुवै सदनको कार्यसूचीमा राख्न सकेको थिएन ।

प्रतिनिधिसभामा काँग्रेस–एमालेको बहुमत भए पनि राष्ट्रिय सभामा भने सत्तारुढ गठबन्धन अल्पमतमा छ । राष्ट्रिय सभामा निर्णायक हैसियतमा रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन शर्त राखेपछि सरकारलाई समस्या परेको हो ।

यस्तै संघीय सरकारमै सहभागी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को अडान पनि सरकारको पक्षमा छैन । राष्ट्रिय सभामा एक सिटको प्रतिनिधित्व रहेको लोसपाले पनि जसपा नेपालले जस्तै भूमि अध्यादेश फिर्ता गर्नुपर्ने अडान लिएको छ । सरकारले ल्याएका अध्यादेश प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैबाट पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

अध्यादेश स्वीकृतिका लागि एक पटक प्रतिनिधिसभाको कार्यसूचीमा राखिएपनि राष्ट्रिय सभामा पास हुने नदेखिएपछि सरकारले भने अनुसार सभामुख देवराज घिमिरेले कार्यसूचीबाट हटाउनु भएको थियो । सरकारमा सहभागी दल र सरकारलाई समर्थन गरेका दलले भूमिसम्बन्धी अध्यादेशमा विरोध जनाएपछि अन्य पाँच वटा अध्यादेश मात्रै आज संसदमा पेस हुन लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार