मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |
मुख्य समाचार
आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन | ८.८१ अंकले बढ्यो नेप्से परिसूचक | भक्तपुरको होल्डिङ सेन्टरमा एकजना मृत फेला |


घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल

Nagarik Sewa 4720+ समाचार ( )
४ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं ।  घोडाघोडी ताल क्षेत्रमा आगन्तुक चराहरूको चहलपहल बढेको छ । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराका लागि उपयुक्त बासस्थान मानिन्छ ।

पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण प्रत्येक वर्ष यहाँ हजारौँ आगन्तुक चरा आउने गरेका छन् । यस वर्ष पनि आगन्तुक चराको चिरबिर आवाज र चहलपहलले घोडाघोडी ताल क्षेत्रको माहोल थप रमणीय र मनमोहक भएको छ । उत्तरी ध्रुवका साइबेरिया, मङ्गोलिया, उत्तरी चीन, रसिया, कोरिया, जापान, युरोपलगायत क्षेत्रमा तापक्रम शून्य डिग्री सेल्सियसभन्दा न्यून भई तालतलैया तथा पोखरीमा बरफ जम्ने भएकाले चराहरू उचित तापक्रम र वातावरणको खोजी गर्दै यहाँ आउने गरेको चराविद् डा हेमसागर बराल बताउनुहुन्छ ।

अत्यधिक चिसोमा अनुकूलन हुन नसक्दा र आहारा कमीका कारण चिसो छल्न नेपाललगायत दक्षिण क्षेत्रतर्फ बसाइँसराइ गर्ने चराहरूको सङ्ख्या ठूलो रहेको उहाँले बताउनुभयो । “अत्यधिक चिसो भएपछि तालतलैया बरफमा परिणत हुन्छन् । चराको आहारामा नोक्सान हुन्छ । त्यसैले चराहरू नेपाललगायत दक्षिण क्षेत्रमा आउँछन्”, चराविद् बरालले भन्नुभयो, “यस बेला यहाँको मौसम अनुकूल हुने र आहार पनि पर्याप्त पाइने भएकाले हरेक वर्ष चराहरू आउँछन् ।”

सेप्टेम्बरको अन्तिम सातादेखि आगन्तुक चराहरू आउने गरेको नेपाल पक्षीविद् सङ्घका अध्यक्ष हठन चौधरीले बताउनुभयो । उहाँका अनुसार नेपालमा एक सय ५३ प्रजातिका आगन्तुक चराहरू आउने गर्छन्, यो क्रम डिसेम्बरसम्म चल्छ । जसमध्ये धेरैजसो हाँस प्रजातिका हुन्छन् । यहाँ आइपुगेका चरा फेरि अप्रिलमा आएकै ठाउँतिर फर्किन्छन् ।

पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत हिरुलाल डगौराले यो बेला विभिन्न देशबाट हजारौँ किलोमिटर यात्रा पार गरेर ठूलो सङ्ख्यामा आगन्तुक चराहरू आउने गरेको जानकारी दिनुभयो । “दशकौँदेखि कैलालीको घोडाघोडीका साथै महादेवा, लौकाहा–भौकाहा, चिरैयाँ, नकरोड, कोइलही, सोनियाँ–रुपियाँ, जम्नेहटा, घोड्ताललगायत कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रजातिका हिउँदे आगन्तुक चरा आउने गर्दछन्”, उहाँले भन्नुभयो ।

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार संसारमा चराका नौवटा उडानमार्ग रहेका छन् । तीमध्ये नेपालमा दुई उडानमार्ग पर्छन् । अधिकांश चराहरू मध्य एसिया उडानमार्ग हुँदै घोडाघोडी पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । घोडाघोडीमा हाल आगन्तुक चराका रूपमा सुनजुरे, खडखडे, मालक, बेल्चाठुडे, कालीजुरे, कैलो टाउके, सिन्दूरे, हरियो टाउकेलगायत हाँस प्रजातिका जलपन्छी आएका छन् ।

पूर्व–पश्चिम राजमार्गको छेउमा रहेको घोडाघोडी ताल क्षेत्र दुर्लभ चराचुरुङ्गीले विचरण गर्ने शान्त र सुरक्षित बासस्थान हो । विश्व जलचर इतिहासमा सङ्कटापन्न दर्जनौँ जातका रैथाने माछाका प्रजाति, पुतली तथा अन्य दुर्लभ चराचुरुङ्गीको संरक्षणका कारण यो ताल सन् २००३ मा विश्व रामसार सूचीमा सूचीकृत भएको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष चौधरी बताउनुहुन्छ ।

रामसारको प्रावधानअनुसार विश्वका आठमध्ये दुई महत्वपूर्ण अन्तर्राष्ट्रिय चराहरूको सूचक यस तालमा उपलब्ध छन् । हरिहाँस, बगाले सिम कुखुरा तथा नादुन हाँसले घोडाघोडी ताल क्षेत्रमा मात्रै प्रजनन गर्ने गरेको उहाँले बताउनुभयो । “विश्वभरका एक हजार तीन सय १४ रामसार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा र पुतली यस ताल क्षेत्रमा मात्र पाइन्छन् । त्यसैले पनि विश्वका सङ्कटापन्न जलचर, स्थलचर तथा जैविक विविधताका दृष्टिले घोडाघोडी ताल महत्वपूर्ण छ”, पन्छी संरक्षण सङ्घका फिल्ड अधिकृत डगौराले भन्नुभयो ।

यहाँ हरिहाँस, मगर गोही र वनधान सूचक प्रजातिका रूपमा छन् । चौधरीका अनुसार विश्वव्यापी रूपमा लोप हुँदै गएका भुडिफोड गरुण, सेतो गिद्ध, सानो खैरे गिद्ध, राज लाहाचे, राज धनेसलगायत प्रजातिका चराहरू पनि यहाँ बसोबास गर्छन् । चराहरूको महत्वपूर्ण बासस्थल भएकाले २७ फागुन २०७८ मा घोडाघोडी क्षेत्रलाई नेपालको पहिलो ‘बर्ड सेन्चुरी चरा अभय आरक्षण क्षेत्र’ घोषणा गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै