काठमाडौं । सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रिगन र सन् २०२६ मा डोनल्ड ट्रम्पमाथि एउटै होटेलमा ज्यान लिने प्रयास भयो । तर, उनीहरू त्यसबाट बच्न सफल भए । वासिङ्टनको हिल्टन होटेलमा अप्रिल २५ को राति चलिरहेको ‘ह्वाइट हाउस संवाददाता रात्रिभोज’ अचानक रणभूमिमा परिणत भयो । धेरै वर्षको बहिष्कारपछि पहिलोपटक यस कार्यक्रममा सहभागी भएका राष्ट्रपति ट्रम्पलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार भयो । त्यसपछि सुरक्षा टोलीले उनी र प्रथम महिला मेलानिया ट्रम्पलाई सुरक्षित रूपमा बाहिर निकाल्यो ।
‘ह्वाइट हाउस संवाददाता रात्रिभोज’ चलिरहँदा ३१ वर्षीय कोल थोमस एलेनले सुरक्षा चेकपोइन्टमा आक्रमण गरेका थिए । कार्यक्रम सुरु भएको केही समयमै हलको पछिल्लो भागबाट गोलीको आवाज सुनियो । सीएनएन र न्युयोर्क टाइम्सका अनुसार त्यहाँ उपस्थित सयौँ पत्रकार र विशिष्ट पाहुनाहरू ज्यान जोगाउन टेबलमुनि लुकेका थिए । गोली चल्नासाथ 'सिक्रेट सर्भिस'का एजेन्टहरूले हतियार तानेर स्टेज घेराबन्दी गरेका थिए । राष्ट्रपतिबाहेक उपराष्ट्रपति जेडी भान्स, अर्थमन्त्री स्कट बेसेन्ट र एफबीआई निर्देशक काश पटेललाई पनि सुरक्षित स्थानमा लगिएको थियो ।
आक्रमणको केही समयपछि राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा यसबारे भनेका छन्, “डीसीमा आजको साँझ निकै हलचलपूर्ण रह्यो । सेक्रेट सर्भिस र सुरक्षा एजेन्सीहरूले अत्यन्तै बहादुरी र कुशलतापूर्वक काम गरे । सुटर पक्राउ परिसकेको छ । मैले कार्यक्रम जारी राख्न सुझाव दिएको छु, तर म सुरक्षा निकायको निर्णय र निर्देशनलाई पूर्ण रूपमा पालना गर्नेछु ।” अमेरिकी सिक्रेट सर्भिसले ट्रम्प, प्रथम महिला मेलानिया र उपराष्ट्रपति जेडी भान्सलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो । एक सेक्रेट सर्भिस एजेन्टलाई गोली लागे पनि बुलेट–प्रुफ ज्याकेटका कारण उनको ज्यान जोगिएको छ । एलेनले धेरै हतियार बोकेका थिए र उनी होटेलकै पाहुना थिए । प्रहरीले उक्त आक्रमणलाई कुनै समूहको योजनाबद्ध घटना नभई उनको एकल आक्रमण प्रयासका रूपमा लिएको छ ।
यो घटना त्यही होटेलमा भएको हो, जहाँ ३० मार्च १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रिगनमाथि जोन हिन्क्ली जुनियरले गोली चलाएका थिए । होटेलबाट बाहिर निस्केर आफ्नो कारतर्फ जाँदै गर्दा हिन्क्लीले रिगनमाथि ६ राउन्ड गोली चलाएका थिए । एउटा गोली उनको कारमा ठोक्किएर रिगनको छातीमा पसेको थियो । उनको करङ भाँचिएको थियो र फोक्सोमा चोट लागेको थियो । तर, गोली मुटुबाट थोरैले जोगिएको थियो । गम्भीर घाइते अवस्थामा पनि रिगन आफैँ हिँडेर अस्पतालभित्र पसेका थिए । रगत वान्ता गरिरहेका उनलाई जर्ज वासिङ्टन विश्वविद्यालय अस्पताल लगिएको थियो । उपचारअघि उनले ठट्टा गर्दै डाक्टरहरूलाई भनेका थिए, “आशा छ तपाईंहरू सबै रिपब्लिकन हुनुहुन्छ !”
हिन्क्लीले चर्चित अभिनेत्री जोडी फोस्टरलाई प्रभावित पार्न उक्त आक्रमण गरेका थिए । उनलाई मानसिक रूपमा अस्वस्थ घोषित गरी सन् २०१६ सम्म निगरानीमा राखिएको थियो । ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका लागि चर्चित भए पनि स्थानीय रूपमा यस होटेललाई ‘हिन्क्ली हिल्टन’ वा ‘रिगन होटेल’ भनेर चिनिन्छ । सन् १९८१ को घटनापछि यो होटेल सुरक्षाका दृष्टिले विश्वभर चर्चामा रहँदै आएको छ ।
सन् १९८१ को घटनामा प्रेस सचिव जेम्स ब्राडीको टाउकोमा गोली लागेको थियो । उनको सन् २०१४ मा निधन भयो । प्रहरी थोमस डेलेहान्टीको घाँटीमा गोली लागेको थियो भने सेक्रेट सर्भिसका कर्मचारी टिम म्याकार्थी राष्ट्रपतिलाई बचाउन खोज्दा पेटमा गोली लागेको थियो । राष्ट्रपति ट्रम्पले विगतका वर्षहरूमा यस भड्किलो कार्यक्रमलाई बहिष्कार गर्दै आएका थिए । राष्ट्रपतिको रूपमा उनी पहिलोपटक यस डिनरमा सहभागी भएकै रात यस्तो भयानक घटना हुनु संयोग मात्र नभई ऐतिहासिक समानता जस्तो देखिएको छ ।
यस घटनापछि वासिङ्टन हिल्टन होटेलको सुरक्षा व्यवस्था र यस्ता सार्वजनिक समारोहहरूको ढाँचामा महत्त्वपूर्ण परिवर्तन आउने बताइएको छ ।