काठमाडौं । युक्रेनले रुसको भित्री क्षेत्रमा लामो दूरीका ड्रोन आक्रमणलाई थप तीव्र बनाएको छ । आइतबार युक्रेनी ड्रोनले दक्षिणी रुसस्थित एउटा ठूलो तेल रिफाइनरीमा आक्रमण गर्दा त्यहाँ भीषण आगलागी भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपटक देशमा इन्धन अभाव देखिएको स्वीकार गरेका छन् । सरकारले तेल प्रशोधन केन्द्रको सुरक्षा सुदृढ पार्ने, इन्धन उत्पादन बढाउने तथा आवश्यक परे आयात समेत गर्ने तयारी गरेको उनले बताए ।
उता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको सेनाले रुसका दुई तेल रिफाइनरीलाई सफलतापूर्वक निसाना बनाएको बताएका छन् । उनले भने, “प्रत्येक सफल आक्रमणले रुसको युद्ध लड्ने क्षमता कमजोर बनाउँछ र शान्तितर्फ एक कदम अगाडि बढाउँछ ।” युक्रेनले पछिल्ला केही महिनादेखि रुसका ऊर्जा पूर्वाधार र तेल रिफाइनरीलाई निरन्तर निसाना बनाउँदै आएको छ । त्यसको प्रभाव अब रुसभित्र स्पष्ट देखिन थालेको छ ।
रुसका विभिन्न क्षेत्रमा पेट्रोल र डिजेलको अभाव बढेको छ । पेट्रोल पम्पहरूमा लामो लाइन देखिन थालेको छ । केही स्थानमा इन्धन बिक्रीमा सीमा तोकिएको छ । साइबेरियाको इरकुत्स्क क्षेत्रमा सरकारी तेल कम्पनीका पेट्रोल पम्पहरूले एक सवारीसाधनलाई प्रतिदिन अधिकतम ५० लिटर मात्र इन्धन उपलब्ध गराउने निर्णय गरेको जनाइएको छ ।रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले आन्तरिक माग पूरा गर्न इन्धन निर्यातसम्बन्धी सम्झौताको समीक्षा भइरहेको बताएका छन् ।
राष्ट्रपति पुटिनले युक्रेनको उद्देश्य रुसभित्र असन्तोष फैलाउने र रुसी सेनाको गतिविधिमा अवरोध सिर्जना गर्ने रहेको आरोप लगाए । यस्ता आक्रमणले युद्धको अग्रमोर्चामा भने कुनै प्रभाव नपारेको उनले जिकिर गरे । पुटिनले युक्रेनले रुसको भित्री क्षेत्रमा आक्रमण रोक्ने प्रस्ताव राखेको खुलासा गरे । रुसले उक्त प्रस्ताव अस्वीकार गरेको उनले बताए ।
उनका अनुसार, युक्रेनले लडाइँलाई रुसले नियन्त्रणमा रहेको दाबी गर्ने चार क्षेत्रमा मात्र सीमित गर्न चाहेको थियो । तर, त्यसो गर्दा युक्रेनले अरू मोर्चाबाट सेना सार्ने सम्भावना रहेकाले रुसले प्रस्ताव स्वीकार नगरेको हो । रुसको क्रास्नोडार क्षेत्रस्थित स्लाभ्यान्स्क–ना–कुबानीको ठूलो तेल रिफाइनरीमा ड्रोन आक्रमणपछि भीषण आगलागी भएको छ ।
ड्रोनको भग्नावशेष खस्दा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते छन् । उक्त रिफाइनरीले वार्षिक करिब ४० लाख टन कच्चा तेल प्रशोधन गर्ने क्षमता राख्छ । त्यहाँबाट उत्पादित पेट्रोलियम पदार्थ ब्ल्याकसागरका बन्दरगाहमार्फत निर्यात गरिन्छ । जेलेन्स्कीले यारोस्लाभ क्षेत्रमा रहेको अर्को तेल रिफाइनरीमा पनि आक्रमण गरिएको जिकिर गरेका छन् । रुसी अधिकारीहरूले भने यसको पुष्टि गरेका छैनन् ।
पछिल्लो समय रुसले पनि युक्रेनमाथि हवाई आक्रमणलाई निरन्तरता दिएको छ । युक्रेनको दक्षिणी सहर जापोरिज्जियामा रुसी बमबारीमा दुईजनाको मृत्यु भएको छ । दुई बालबालिकासहित १६ जना घाइते छन् । रातभरि युक्रेनले प्रहार गरेका २१३ ड्रोन रुसी वायु प्रतिरक्षा प्रणालीले खसालेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।
युक्रेनी वायुसेनाले भने रुसले रातभरि १४२ ड्रोन र आठ मिसाइल प्रहार गरेको जनाएको छ । तीमध्ये १२५ ड्रोन र सात मिसाइललाई आफ्नो वायु प्रतिरक्षा प्रणालीले नष्ट गरेको युक्रेनको भनाइ छ ।