असारको तेस्रो साताभित्र एसईईको नतिजा प्रकाशन गर्ने तयारी

Nagarik Sewa 4154+ समाचार ( )
९ आश्विन २०८२, सोमबार

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले असारको तेस्रो साताभित्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। असार ६ गतेभित्रमा सार्वजनिक गर्ने गरी कार्यतालिका बनेपनि गत चैतमा शिक्षकहरूले गरेको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो। 

आन्दोलनका कारण उत्तर पुस्तिका परीक्षण कार्यमा ढिलाइ भएपछि नतिजा प्रकाशनमा असर परेको हो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा.गणेशप्रसाद भट्टराईले शिक्षकहरूको आन्दोलनले उत्तर पुस्तिका परीक्षणमा ३२ दिनको ढिलाइ भएको बताए।

गत वर्ष २०८१ सालको चैत २० गतेदेखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरू काठमाडौँमा सडक आन्दोलन गरेका थिए। जसका कारण उत्तर पुस्तिका समयमा परीक्षण हुन सकेको थिएन । ढिला गरी उत्तर पुस्तिका परीक्षा सुरु भएको थियो। उत्तर पुस्तिका परीक्षण र सम्परीक्षणको काम सकिएर अहिले अङ्क इन्ट्री गर्ने काम भइरहेको भट्टराईले बताए । ‘सम्परीक्षण भन्दा पछाडिको इन्ट्री लगायतका काम भइसहेको छ । त्यो प्रोसेसिङको लागि ३५ दिन लाग्ने हो । परीक्षा नियन्त्रण कार्यालयलाई लाग्ने ३५ दिन हो । शिक्षकहरूले ३२ दिन ढिलाइ गर्नुभयो,’ भट्टराईले भने ।  

बोर्डले असारको तेस्रो वा चौथो हप्ताभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको छ । यद्यपि, तोकिएको मिति भने अझै निश्चित भएको छैन ।  गत २०८१ सालको चैत ७ गतेदेखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी थिए । नतिजा प्रकाशनमा भएको ढिलाइले कक्षा ११ को भर्ना प्रक्रिया पछि धकेलिने भएको छ । 

बोर्डले वार्षिक कार्य तालिका अनुसार २०८२ असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने र असार २२ गतेसम्म पुनर्योग गर्ने तथा साउन १२ गते पुनर्योगको नतिजा प्रकाशन गर्ने रहेको थियो । साउन १९ र २० गते पूरक परीक्षा सञ्चालन गर्ने र भदौ २० गतेभित्र पूरक परीक्षाको नतिजा प्रकाशन गर्ने कार्यतालिका थियो । तर, नतिजा प्रकाशनमा ढिलाइ हुने भएपछि अन्य कार्यक्रममा समेत ढिलाइ हुने देखिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार