जेनजी आन्दोलनको म्यान्डेट बमोजिम सरकार अघि बढेको छ: प्रधानमन्त्री कार्की

Nagarik Sewa 4281+ समाचार ( )
२३ कार्तिक २०८२, शनिबार

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले भर्खरैको जेनजी आन्दोलनले दिएको म्यान्डेटलाई आत्मसात् गर्दै सुशासन र निजी क्षेत्रको सुरक्षामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएकी छिन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस २.०’ लाई सम्बोधन गर्दै उनले उद्योगी–व्यवसायीलाई ‘आर्थिक समृद्धिको जगका विशाल ढुङ्गा’ को संज्ञा दिइन्।

सङ्क्रमणकालबाट गुज्रिरहेको उल्लेख गर्दै रेमिट्यान्स, प्राकृतिक स्रोत र पर्यटन जस्ता बलिया जग हुँदाहुँदै पनि संरचनागत कमजोरी र पुँजी पलायनका कारण मेहनत अनुसारको फल पाउन नसकेको यथार्थ स्वीकार गरिन्।

प्रधानमन्त्री कार्कीले भदौको जेनजी आन्दोलनले घुसखोरी, कमिसनको सञ्जाल, लुटतन्त्र र इमानदार उद्यमीलाई प्रताडित गर्ने अवस्था सह्य नहुने स्पष्ट सन्देश दिएको बताइन्। उनले उक्त आन्दोलनको आडमा भएको आगजनी र लुटपाटले मर्माहत निजी क्षेत्रलाई तत्काल राहत र सहयोग पुर्‍याएर आत्मविश्वास जगेर्ना गर्न सरकार कुनै कसर बाँकी नराख्ने विश्वास दिलाइन्।

सुशासनलाई सामाजिक न्याय र आर्थिक वृद्धिको पूर्वसर्त बताउँदै उनले कानुनको शासन स्थापित गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सम्पूर्ण शक्तिका साथ लागेको जानकारी गराइन्। उद्योगीको मनोबल नउठेसम्म अर्थव्यवस्था उठ्न नसक्ने बताउँदै उनले निजी क्षेत्रको माग सम्बोधन गर्न सहज वातावरण निर्माणमा सरकार निरन्तर सहकार्य गरिरहेको स्पष्ट पारिन्।

रेमिट्यान्सको भरमा मात्र बाँच्ने अवस्थाबाट बाहिर निस्केर आफ्नै उत्पादन बढाउने अभियानमा सरकार लागेको र पुँजीगत खर्चलाई तीव्र बनाउँदै लगानीको वातावरण सुधार गर्न नीतिगत जटिलता हटाइरहेको उनले जानकारी दिइन्।

उनले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको तयारीमा सरकार जुटेको र निर्वाचन सफल बनाउन निजी क्षेत्रको पनि महत्त्वपूर्ण भूमिका रहने बताइन्। प्रधानमन्त्रीले सबै उद्यमी, किसान र युवाहरूलाई नडराउन र आत्मविश्वासका साथ अगाडि बढ्न आह्वान गर्दै 'हाम्रो देश हामीले नबनाए कसैले आएर बनाइदिँदैन' भन्दै एकजुट हुन आह्वान गरेकी छिन्।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै