काठमाडौं। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा नागरिकता विधेयक अगाडि बढाउने र बजेटको मन्त्रालयगत छलफल गर्ने सम्भावित कार्यसूची छ ।
यसअघि मंगलबार कार्यसूचीमा परेर पनि रोकिएको संघीय निजामती सेवा विधेयक अगाडि बढाउने विषय कार्यसूचीमा छैन। निजामती सेवा विधेयकमा प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीको हकमा अवकाशपछि ‘कुलिङ पिरियड’ लागू हुने प्रावधान राखेको छ । जस अनुसार राजीनामा वा अवकाश पाएपछि सरकारी कर्मचारीले २ वर्षसम्म संवैधानिक वा अन्य नियुक्त पाउँदैनन् ।
यस्तो प्रावधानमा उच्च पदस्थ कर्मचारीले असन्तुष्टि जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले समेत चासो राखेका छन्। गत सोमबार मन्त्रिपरिषदको बैठकमै ‘कुलिङ पिरियड’बारे छलफल भएको थियो । बुधबार राज्य व्यवस्था तथा सुसासन समितिका सभापति रामहरि खतिवडालाई नै बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।