काठमाडौं। सहकारी ठगीमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज (बुधबार) पनि थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासमा बुधवार लामिछाने तर्फका कानुन व्यवसायीले बहस गर्दै छन् । उनको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्ने भएका छन्। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोगपत्र दायर भएपछि लामिछाने आइतबार अदालतमा हाजिर भएका थिए।
गोरखा मिडिया नेटवर्कमा कानुन विपरीत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ लगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रवि विरुद्ध ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ बिगो मागदावी गरिएको छ । अदालतको आदेशले उनलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ ।