काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा दिउँसो १ बजे बस्दैछ । विघटित प्रतिनिधिसभाका सांसदहरूसहित दलको बैठक बस्न लागेको हो । नेताहरूका अनुसार पछिल्लो राजनीतिक परिस्थिति, प्रतिनिधिसभा विघटन र पार्टीले लिने आगामी नीतिका सम्बन्धमा छलफल हुनेछ ।
गत २७ भदौमा प्रतिनिधि सभा विघटन भएको थियो । त्यसपछि एमालेले पहिलो पटक विघटित प्रतिनिधिसभाका सांसदहरूसहित संसदीय दलको बैठक राखेको हो । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि प्रतिनिधि सभाबाट सरकार बन्ने अवस्था नरहेको भन्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार बनाइएको थियो ।
एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै आएको छ र पुर्नस्थापनाको माग राख्दै आएको छ । प्रतिनिधि सभा पुर्नस्थापनाको पक्षमा विघटित प्रतिनिधि सभा सदस्यहरूको हस्ताक्षर समेत संकलन गरेको छ । नेताहरूका अनुसार एमालेका ३२ जना र कांग्रेसका ४६ जनाले प्रतिनिधि सभा पुनर्स्थापनाको पक्षमा भनेर हस्ताक्षर गरिसकेका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई कसरी अगाडि बढाउने भनेर नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग निरन्तर संवाद समेत गर्दै आएका छन् ।