काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री शेरबहादुर तामाङले विद्यालय शिक्षा सुधारका लागि संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा १२ बुँदे सुझावपत्र बुझाएका छन्। सुझावपत्र समितिका सभापति माननीय अमरबहादुर थापा र विद्यालय शिक्षा विधेयक उपसमितिका संयोजक माननीय छविलाल विश्वकर्मालाई बुझाइएको हो। संसदमा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक २०८० लाई अवसरका रूपमा लिँदै तामाङले गहिरो संरचनागत सुधार आवश्यक रहेको औँल्याएका छन्। उनले शिक्षा सुधारलाई केवल शिक्षक तथा कर्मचारीको सुविधा वृद्धिसम्म सीमित नराखी, विद्यालय प्रणालीको आधारभूत परिवर्तन आवश्यक भएको बताए।

सुझावपत्रका प्रमुख बुँदाहरू यस प्रकार छन्:
- विद्यालय समय विहानी सिफ्टमा परिवर्तन: अभिभावक र विद्यार्थीको दिनचर्या सुधार गर्ने, सामूहिक खाना कार्यक्रमको विकास गर्ने, शिक्षकको उपस्थिति बढाउने, र काठमाडौँ उपत्यकाको ट्राफिक जाम न्यूनीकरण गर्ने।
- विद्यालयलाई व्यावसायिक शिक्षा केन्द्रमा रूपान्तरण: दिउँसो खाली हुने विद्यालय भवनलाई तालिम केन्द्र बनाइ ८-१२ कक्षाका विद्यार्थी तथा समुदायलाई दक्ष बनाउने।
- नैतिक शिक्षाको पाठ्यक्रम अनिवार्य: “Moral and Values” अन्तर्गत नैतिकता र नागरिक जिम्मेवारी सिकाउने पाठ्यक्रम विकास।
- नेपाली उत्पादन र स्रोतसाधनमा आधारित शिक्षा: नेपालमै हुने आम्दानी र स्रोतको उपयोगबारे विद्यालय तहबाटै सिकाउने।
- डिप्लोमा पास नगरी विदेश पढ्न नपाउने व्यवस्था।
- विदेशी र नेपाली विश्वविद्यालयका कलेजबीच भर्ना नीति बराबरी बनाउने।
- विद्यालय म्यापिङ गरी मर्ज गर्दै आवासीय सुविधा सहितको "बिग स्कुल" अवधारणा कार्यान्वयन।
- विद्यालय भवनलाई दिउँसो व्यावसायिक तालिम केन्द्रका रूपमा कानुनी मान्यता दिने।
- ‘काम गर्दैछ, पढ्दैछ’ कार्यक्रमलाई कानुनी आधार दिने।
- प्राविधिक र व्यावसायिक शिक्षाका लागि छुट्टै कानुनी व्यवस्था।
- सार्वजनिक विद्यालयमा शिक्षक तथा सरकारी कर्मचारीका छोराछोरी अनिवार्य पढाउने नीति।
- शिक्षक सरुवालाई निजामती सेवासरह बनाउँदै पारदर्शी ब्लक सरुवा प्रणाली लागू गर्ने।
तामाङले भने, "यो विधेयकमा सुधारको अवसर छ, यसलाई गुमायौं भने शिक्षा सुधारको अर्को मौका धेरै वर्षसम्म नआउन सक्छ।"सुझावपत्रमा जनस्वास्थ्य, आर्थिक उत्पादन, सामाजिक समावेशिता, र मुलुकको समृद्धि जस्ता विविध आयाम जोडिएको देखिन्छ। संसदीय समितिले सुझावलाई ध्यानमा राखेर विधेयकको पुनरावलोकन गर्ने अपेक्षा गरिएको छ।