काठमाडौं। ‘जेन–जी’ आन्दोलनका बेला विभिन्न कारागार, बन्दीगृह र प्रहरी हिरासतबाट भागेका १४ हजार ४३ कैदीबन्दी मध्ये करिब ७ हजार ३ सय कैदीबन्दी र थुनुवा पक्राउ परेका छन् । कारागार व्यवस्थापन विभाग र प्रहरीका अनुसार कैदीबन्दी र थुनुवामध्ये करिब १ हजार विदेशी नागरिकसहित अझै ६ हजार ८ सय फरार छन् ।
जेन–जीले २३ भदौमा गरेको आन्दोलनमा राज्यले दमन गरेको भोलिपल्ट प्रदर्शन भड्किएको मौकामा कारागार तथा प्रहरी हिरासत तोडफोड र आगजनी गरेर कैदीबन्दी एवं थुनुवा भागेका थिए । २४ भदौमा २८ वटा कारागार, बालसुधार गृह र डेढ सयभन्दा बढी प्रहरी हिरासतमा तोडफोड र आगजनी भएको थियो ।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार जेल तोडेर भागेका कैदीबन्दीमध्ये मंगलबार साँझसम्म करिब ६ हजार ९ सय जना पक्राउ परेका छन् । हिरासत कक्षबाट भागेकामध्ये ३ सय ७० जना थुनुवा पक्राउ परेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले जानकारी दिए । उनीहरूमाथि हिरासत कक्ष फोडेर विध्वंस मच्चाएको अभियोगमा समेत अनुसन्धान हुने प्रहरी अधिकारीहरूले जनाएका छन् ।
फरार हुनेमा करिब १ हजार विदेशी कैदीबन्दी पनि छन् । चीन, भारत, पाकिस्तान, बंगलादेश र अन्य मुलुकका नागरिक जेलमा तोडफोड र आगजनीको मौका छोपी २४ भदौमा फरार भएका थिए। आगजनी र तोडफोडपछि भागेका कतिपय कैदीबन्दी आफैं फर्किएका थिए भने अन्यलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।
२४ भदौमा भागेका कैदीबन्दीबाट सुरक्षा खतरा उच्च रहेको निष्कर्ष प्रहरीले निकालेको छ। भड्किएको हिंसाका क्रममा प्रहरी ब्यारेकरकार्यालयबाट मात्रै इन्सास, एसएलआर र पिस्तोलसहितका १२ सयभन्दा बढी हतियार लुटिएका थिए । ती हतियारका करिब १ लाख राउन्ड गोली पनि प्रहरी अभिलेखबाट हराएका छन् । हराएका हतियार र गोलीगट्ठा अनि कैदीबन्दीका कारण मुलुकमा सशस्त्र समूहको उदय हुन सक्ने जोखिम रहेको पनि प्रहरीले औंल्याएको छ ।