काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद राम लामाले ट्राफिक अदालत स्थापनाको माग गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले ट्राफिक प्रहरीले सडकमा कुटिने कुराको अन्त्य र सवारी चालकले न्याय पाउनुपर्ने बताए ।
“लोकतन्त्रमा सबै नागरिकले न्याय पाउनुपर्छ । ट्राफिक प्रहरीले पनि सडकमा कुटिनुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ भने चालकले पनि न्याय पाउनुपर्छ,” त्रिपुरेश्वर चोकमा बस चालकले आत्मदाह गरेको घटना सम्झँदै उनले भने ।
यस्ता घटना दोहोरिन नदिनका लागि दीर्घकालीन समाधान खोज्नुपर्ने धारणा राखे । “यस्ता घटनाहरूको सत्य, तथ्य, निष्पक्ष र न्यायपूर्ण ढंगले सुझाउन ट्राफिक अदालतको स्थापना गर्न सरकारसँग माग गर्दछु,” लामाले भने ।