काठमाडौं। महोत्तरीको औरही नगरपालिका–१ स्थित औरही चोकमा प्रहरीले ठुलो परिमाणको लागूऔषध बरामद गरेको छ। नियमित निगरानीका क्रममा उत्तरबाट दक्षिणतर्फ आइरहेको विआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा १० केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक भारतको बिहार राज्य, वैशाली जिल्ला–५ पतेपुर निवासी २७ वर्षीय गोविन्द राम र पछाडि सवार २१ वर्षीय एकवाल मोहम्मदले बोकेको कालो झोलाभित्र प्लास्टिक र डोरीले कसेर लुकाइ राखिएको अवस्थामा दुई पोका गाँजा भेटिएपछि प्रहरीले तत्काल दुवैलाई नियन्त्रणमा लिएको हो ।बरामद गरिएको गाँजा र पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गौशाला पठाइएको छ ।