एमालेमा विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित

Nagarik Sewa 4238+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

काठमाडौं। नेकपा एमालेको शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ। बैठकले ७० वर्षे उमेर हद र विधानमा रहेको नेतृत्वमा २ कार्यकाल भन्ने व्यवस्था संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको हो । 

बैठकमा उपाध्यक्ष विष्णु पौडेल प्रस्तावित विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार संशोधन प्रस्तावमा मुख्य गरी पार्टीमा अबदेखि सङ्गठित र साधारण गरी दुईथरी सदस्यताको व्यवस्था रहने प्रस्ताव पारित गरिएको छ । त्यस्तै बैठकले जिल्ला कमिटीलाई कार्यकारी कमिटी हुने प्रस्ताव पनि गरेको छ । 

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टीमा सक्रिय हुने विषयमा भएको छलफलमा अधिकांश सदस्यले बेठिक रहेको धारणा राखेका छन्। साथै भण्डारीलाई अहिले नै अध्यक्ष बनाउन नहुने पक्षमा सदस्यहरू उभिएका छन् । यद्यपि त्यसबारे अर्को कमिटीबाट निर्णय गर्ने एमालेले जनाएको छ । 

‘राष्ट्रको सर्वोच्च पदमा पुगेको व्यक्ति राजनीतिमा आउनु ठिक होइन भन्ने धारणा आएको छ । साथै उहाँलाई अहिले नै एमालेले अध्यक्ष बनाएर जाने सम्भावना छैन’, गौतमले बैठकको सार सुनाउँदै भन्नुभयो, ‘तर त्यसबारे अर्को कमिटीमा छलफल हुन बाँकी छ ।’ 

बैठकमा पोलिटब्युरो सदस्य महेश बस्नेतले ११ औँ महाधिवेशनमा ओलीले नै पार्टी नेतृत्व गर्नुपर्ने बताउनुभयो। पछिल्ला दिनमा प्रचण्ड, कांग्रेस नेता शेखर कोइराला र विद्या भण्डारीको भेटवार्तालाई बस्नेतले एमाले कमजोर पार्ने चाल भएको टिप्पणी गर्नुभयो। 

‘अर्का पोलिटब्युरो सदस्य आनन्द पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने धारणा राख्नुभएको छ। बरु उहाँले भण्डारीलाई खुला स्वागत गरेर काममा लगाउन अध्यक्ष ओलीलाई आग्रह गर्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै