काठमाडौं । परिवार कल्याण महाशाखाको नेतृत्व तथा वाटर एड नेपालको सहकार्यमा भएको ‘हेल्थ प्रमोसन थ्रू रुटिन इम्युनिजेसन’ कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक भएको छ । सन् २०१४ मा जाजरकोट, बर्दिया, नवलपरासी र म्याग्दी गरी चार जिल्लामा पाइलट कार्यक्रमका रूपमा सुरु गरिएको थियो भने सन् २०१८ मा देशव्यापी विस्तार भएको थियो ।
कार्यक्रमले स्वास्थ्य र सरसफाइ क्षेत्रमा उल्लेखनीय सुधार ल्याएको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रमअन्तर्गत, खोप कभरेजमा वृद्धि, पखाला रोगको दरमा कमी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि भएको छ । पाइलट चरणमै मुख्य स्वच्छता व्यवहार दुई प्रतिशतबाट बढेर ५३ प्रतिशत पुगेको देखिएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, पखाला रोगको दर १५ प्रतिशतबाट घटेर पाँच प्रतिशतमा झरेको उल्लेख गरिएको छ । साथै खोप कभरेजमा सुधारसँगै ड्रपआउट तथा खोप खेर जाने दरमा समेत कमी आएको प्रतिवेदनमा उल्लेख छ । हाल कार्यक्रमले वार्षिक पाँच लाखभन्दा बढी अभिभावकसम्म पहुँच पुर्याउँदै आएको छ ।