काठमाडौं । सरकारले सहुलियतपूर्ण व्याजदरमा उपलब्ध गराउँदै आएको युवा लक्षित ऋण कार्यक्रम राष्ट्रिय वाणिज्य बैंकमार्फत सहज तरिकाले लिन सकिने भएको छ। बेरोजगार युवा, वैदेशिक रोजगारीबाट फर्केका नागरिक, महिला उद्यमी र दलित समुदायका लागि लक्षित यो योजना अन्तर्गत ऋणीले जम्मा ३.३३ प्रतिशत व्याजदरमा ऋण प्राप्त गर्न सक्छन्।
राष्ट्रिय वाणिज्य बैंकका अनुसार देशभरका २०९ शाखामार्फत यो कर्जा वितरण गरिँदैछ। बैंकले विज्ञापनमार्फत समेत जानकारी दिइसकेको छ र इच्छुक युवाहरुलाई आवश्यक कागजातसहित नजिकको शाखामा पुगेर आवेदन दिन अनुरोध गरेको छ।
ऋण कसरी लिने?
यो कर्जा सुविधा लिनका लागि इच्छुक व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकको शाखामा गई कर्जा आवेदन फाराम, व्यवसायिक परियोजनाको स्पष्ट विवरण, सिप विकास केन्द्रबाट तालिम लिएको वा लिने प्रतिबद्धता जनाइएको प्रमाण, तथा अन्य आवश्यक कागजात बुझाउनु पर्नेछ। आवश्यक प्रक्रिया पुरा गरेपछि किस्ताबन्दीमा ऋण प्राप्त हुन्छ। यो ऋण बिनाधितो पनि उपलब्ध हुने भएकाले धेरै युवाका लागि आकर्षक अवसर बन्न पुगेको छ। कृषि, सिलाई-बुनाई, पसल, ब्युटी पार्लर, होटल-रेस्टुरेन्ट, जुत्ता-चप्पल, कपडा तथा गलैंचा उत्पादन जस्ता विभिन्न व्यवसाय सञ्चालन गर्न यो कर्जा प्रयोग गर्न सकिनेछ।
जोखिम व्यवस्थापन
यस्तो ऋणमा धितो बलियो नहुन सक्ने भएकाले जोखिमको सवालमा सरकार, बैंक र कर्जा सुरक्षण केन्द्रबीच त्रिपक्षीय समन्वय गरिएको छ। यस कर्जाको ७५ प्रतिशत जोखिम सरकारको र २५ प्रतिशत जोखिम बैंकको हुन्छ। आयोजना नै धितो हुने भएकाले बैंकको जोखिम पनि न्यून रहन्छ। यदि ऋण समयमै तिर्न नसकिएमा सरकारले कानुनी कारबाही प्रक्रिया अघि बढाउन सक्छ, जसमा कालोसूचीमा राख्ने लगायतका विकल्पहरू समावेश छन्।
राम्रो छ
मैले ऋण लिन के के कागजात संकलन गर्नु पर्छ,३.३३ ब्यादर पछि बड्छकी बड्दैन?