काठमाडौं । कजाकिस्तानको अक्ताउ सहरमा बुधबार एउटा यात्रुवाहक विमान दुर्घटना भएको छ । जहाज अवतरण गर्ने क्रममा विमानमा आगो लागेको बताइएको छ । दुर्घटनामा परेको एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र पाँच जना चालक दलका सदस्य थिए ।
विमान दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । जहाजमा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।
कजाकिस्तानको आपतकालीन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुहरूको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । समाचार एजेन्सी रोयटर्सले रुसी समाचार एजेन्सीहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘यो विमान अजरबैजान एयरलाइन्सको हो । जुन बाकुबाट रुसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो ।’