त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकियो उडान र अवतरण

Nagarik Sewa 4175+ समाचार ( )
२३ कार्तिक २०८२, शनिबार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर फिल्ड लाइटिङ सिस्टममा समस्या आएपछि सबै विमानको उडान र अवतरण रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित विमान उडान र अवतरणको अवस्थामा देखाइने सूचक एयर फिल्ड लाइटिङ सिस्टममा शनिबार (कात्तिक २२) बेलुका करिब साढे ५ बजेदेखि समस्या आएको छ ।

उक्त लाइटिङ सिस्टमको समस्याबारे जाँच भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । समस्या समाधान भएपछि उडान र अवतरण पुनः सञ्चालन गरिने उनले बताए ।

के समस्या भएको हो भन्ने हालसम्म थाहा नभएको र त्यसबारे चेकजाँच भइरहेको शेर्पाको भनाइ छ । सिस्टममा समस्या आएपछि अहिले अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै खालका उडान र अवतरण पूर्ण रूपमा बन्द भएको छ । बन्द हुँदा अवतरणको तयारीमा रहेका जहाजले फन्को मारिरहेका छन् । 

“रात्रिकालीन उडानका लागि चाहिने लाइट पूर्ण रूपमा सुचारु नभएकोले अहिले उडान बन्द छ,” प्रवक्ता शेर्पाले भने, “अहिले के को समस्या भन्ने पत्ता लगाउने काम भइरहेको छ ।”

“एकपल्ट बत्ती आइसकेको थियो,” उनले भने, “फेरि गयो, कसरी भयो भनेर समस्या पत्ता लगाउने काम भइरहेको छ ।” साढे ५ बजेदेखि समस्या छ । यसले गर्दा आन्तरिक र बाह्य सबै खालका उडान बन्द भएका हुन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार