अतिक्रमित जग्गा खाली गर्न पोखरा महानगरको ३५ दिने सूचना

Nagarik Sewa 4414+ समाचार ( )
११ वैशाख २०८३, शुक्रबार

कास्की । पोखरा महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली  गर्न ३५ दिनको सूचना जारी  गरेको छ ।  नगर क्षेत्रभित्रका सार्वजनिक, ऐलानी र पर्ती जग्गामा अनधिकृत रूपमा बनाइएका भौतिक संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको हो । शुक्रवार महानगरले वैशाख ३ गतेको कार्यपालिका निर्णयको आधारमा एक सूचना जारी गर्दै पहुँचका आधारमा कब्जा गरिएका जग्गा खाली गर्न अन्तिम चेतावनी दिएको हो ।

लामो समयदेखि सार्वजनिक जग्गा मिचेर विभिन्न व्यक्ति तथा संस्थाहरूले कार्यालय सञ्चालन गर्ने, भवन बनाएर भाडामा लगाउने र पर्खाल घेरेर निजी बनाउने गरेको जनगुनासो आएपछि महानगरले यस्तो कदम चालेको जनाएको छ ।‘सार्वजनिक जग्गा संरक्षणमा ऐक्यबद्धता जनाई हालसम्म निर्माण भएका संरचना सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आफैँ खाली गर्न वा हटाउन सूचित गरिन्छ,’ महानगरद्वारा  जारी सूचनामा उल्लेख छ।

महानगरका अनुसार विभिन्न स्थानमा पहुँचका भरमा सार्वजनिक सम्पत्ति दोहन गरी व्यापारिक र संस्थागत संरचना बनाइएको तथ्य फेला परेको छ । तोकिएको समयसीमाभित्र संरचना नहटाए महानगर आफैँले कानुनी प्रक्रिया बमोजिम हटाउने र त्यसको खर्चसमेत सम्बन्धित पक्षबाटै असुल गर्ने संकेत गरेको छ ।

महानगरले सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षणका लागि सबै नगरवासीलाई सहयोग गर्न समेत आग्रह गरेको छ । पोखरामा पछिल्लो समय सार्वजनिक जग्गा र फेवाताललगायतका खोला किनारका मिचिएका क्षेत्र खाली गराउने अभियान चल्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार