काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालय प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो।
शाहले आजै शुभ साइत पारेर प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ। राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उहाँले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी छ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल सरकार गठन हुन लागेको हो ।
शपथ ग्रहण समारोहमा सहभागी हुन विभिन्न राजनीतिक दल, यहाँस्थित कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाज, उच्च सरकारी अधिकारीलाई आमन्त्रण गरिसकिएको छ। प्रधानमन्त्रीको शपथसँगै मन्त्रीहरूको पनि शपथ गराइने बुझिएको छ ।