सिन्धुपाल्चोकको डडुवामा वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता तालिमको सुरुवात

Nagarik Sewa 4281+ समाचार ( )
१५ पौष २०८१, सोमबार


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको साँगाचोकगढी –१४ डडुवामा कृषि विकास बैंकद्वारा सञ्चालन हुन लागेको कृषिको समावेशी रूपान्तरणका लागि मूल्य शृङ्खला कार्यक्रमको विधिवत रूपमा सुरुवात् गरिएको छ । नेत्रज्योति कृषि सहकारी संस्था लिमिटेडसँगको सहकार्यमा वित्तिय शिक्षा तथा व्यवसायिक साक्षरता विषयक तालिमको औपचारिक सुरुवात् गरिएको हो । 

कार्यक्रममा बोल्दै कृषि विकास बैँक चौतारा शाखाका प्रमुख सजना महर्जनले वित्तीय पहुँच तथा बजारिकरणको माध्यमद्वारा परम्परागत रूपमा रहेको निर्वाहमुखी कृषि प्रणालीलाई रूपान्तरण गरी व्यावसायिक कृषि प्रणालीमा जानु आजको आवश्यकता रहेको बताएकी छिन् । 

कार्यक्रमको अध्यक्षता गरेका वडा नं १४ का वडाध्यक्ष उद्धव नेपालले भने डडुवामा कृषिको संभावना प्रशस्त रहेको हुँदा वित्तिय साक्षरता कार्यक्रम अपरिहार्य रहेको बताएका छन् । उनले सहुलियतपूर्ण कर्जाको रूपमा सही तरीकाले आपूर्तिकर्ता, कृषक, प्रशोधनकर्ताहरूलाई बजार मागको अधारमा मूल्य शृङ्खलामा आवद्ध गराइ लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस कार्यक्रमले बजार मागमा आधारित कृषि बस्तुको व्यावसायिकरणमार्फत साना कृषकहरुको आयस्तर वृद्धि हुने, रोजगारी श्रृजना हुने तथा कृषिको व्यवसायीकरण, समावेशीकरण तथा प्रतिस्पर्धात्मक विकास हुने अपेक्षा रहेको र प्रत्यक्ष रूपमा देश भरिका १ लाख २० हजार साना कृषक परिवार विशेष गरी महिला, युवा, दलित, जनजाति लगायत पिछडिएका वर्गहरूको क्षमता, वित्तीय सेवा र बजार पहुँचमा वृद्धि गर्दै जीविकोपार्जनमा सुधार गर्ने आयोजकको विश्वास रहेको छ ।

परियोजना अन्तर्गतको यो रकम बैंकले स्थापना कालकै उद्देश्य अनुसार कृषि, साना, लघु तथा मध्यम उद्यम क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि हुने गरी तथा आयात प्रतिस्थापन हुने गरी मूल्य श्रृंखलाको अवधारणाबाट लगानी गरिदैँ आएको छ ।

कार्यक्रमको अध्यक्षता वडा नम्बर १४ का वडाध्यक्ष उद्धव नेपालले गरेका थिए भने वडा नम्बर ३ का वडाध्यक्ष टेक बहादुर तामाङ, वडा नम्बर १० का वडाध्यक्ष निल बहादुर तामाङ र कृषि विकास बैँक चौतारा शाखाका प्रमुख सजना महर्जन विशेष अतिथीका रुपमा रहेका थिए । कार्यक्रममा नेत्रज्योति मिडिया हाउसमा सञ्चालक नेत्रबहादुर बस्नेत, सन्तोषी बस्नेत, श्रोत व्यक्ति अरुण पौडेल, पत्रकार महासंघ काठमाडौं जिल्ला उपाध्यक्ष कान्ति न्यौपाने, लगायतका अन्य विज्ञ र कृषकहरुको सक्रिय सहभागिता रहेको थियो ।  





 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार