२५ दिनमा स्वदेश फर्किए एक लाख ३३ हजार नेपाली

Nagarik Sewa 4368+ समाचार ( )
१५ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन मिति नजिकिँदै छ । उमेदवारहरू मतदाता आकर्षित गर्न घरदैलो कार्यक्रममा व्यस्त छन् । निर्वाचन देश र देशबाहिर रहेका नेपालीलाई उत्तिकै लागेको छ । यति बेला विदेशमा रहेका केही नेपालीले मतदान गर्न नेपाल फर्कने वा फर्किरहेको पोस्ट सामाजिक सञ्जालमा गरिरहेको देखिन्छ । 

के विदेशमा रहेका नेपाली मतदान गर्नकै निम्ति स्वदेश फर्किरहेका हुन् ? यसको जवाफ अध्यागमन विभागको तथ्यांकले दिन्छ ।  मतदानका निम्ति अब ६ दिन बाँकी छ । अध्यागमन विभागबाट बाह्रखरीलाई प्राप्त विवरणानुसार, सन् २०२६ को फेब्रुअरी १ देखि २५ सम्म विश्वका १६० देशबाट एक लाख ३३ हजार ८०९ नेपाली स्वदेश फर्किएका छन् । फर्कनेमा ३२ हजार ३७० महिला र एक लाख एक हजार ४३९ पुरुष छन् । 

फेब्रुअरीमा औसतमा प्रत्येक दिन चार हजार ५७ नेपाली स्वदेश फर्किएका विभागको तथ्यांक छ । यसमा भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्कनेको संख्या समावेश छैन । नेपालीको यो संख्या अघिल्लो महिनाभन्दा निकै बढी हो त ? तथ्यांक हेरौँ– तथ्यांकानुसार, अघिल्लो महिना अर्थात् २०२६ जनवरीमा विश्वका १५९ देशबाट एक लाख ४७ हजार ४४ नेपाली स्वदेश फर्किएका थिए । यसरी फर्कनेमा ३७ हजार ८४६ महिला र एक लाख ४७ हजार ४४ पुरुष छन् । 

जनवरीमा औसतमा प्रत्येक दिन चार हजार ७४३ भन्दा धेरै नेपाली स्वदेश फर्किएका देखिन्छ । फेब्रुअरीको तुलनामा जनवरीमा प्रत्येक दिन औसतमा ६८६ बढी नेपाली स्वदेश फर्किएका तथ्यांक छ । जनवरीमा एक लाख ४७ हजार ४४ र फेब्रुअरीको १ देखि २५ सम्म एक लाख ३३ हजार ८०९ गरी दुई महिनामा दुई लाख ८० हजार ८५३ नेपाली स्वदेश फर्किएका छन् ।

निर्वाचनको मितिनजिकका दिनमा भन्दा अघिल्लो महिनामा धेरै नेपाली स्वदेश फर्किएका तथ्यांक छ । जनवरीको तुलनामा फेब्रुअरीमा स्वदेश फर्कने नेपालीको संख्या घटेको छ । यसबाट मत खसाल्नकै निम्तिभन्दा पनि अरू बेला जे जसरी स्वदेश फर्कने गरिन्थ्यो, त्यही ‘ट्रेन्ड’मा फर्किएका देखिन्छ ।सन् २०२५ मा १७ लाख १८ हजार ६८८ नेपाली विदेश गएका थिए । त्यही वर्ष विदेशबाट १५ लाख आठ हजार २५८ नेपाली फर्किएका थिए । २०२५ मा औसतमा प्रत्येक दिन चार हजार १३२ नेपाली स्वदेश फर्किएका तथ्यांक छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, हाल भारतबाहेकका देशमा ४० लाख नेपाली छन् । २५ लाख नेपाली वैदेशिक रोजगारीका सिलसिलामा छन् । १५ लाख नेपाली अध्ययन र अरू उद्देश्यले विदेशमा छन् । भारतमा मात्र २० लाखदेखि ५० लाख नेपाली रहेका उनले जानकारी दिए । यो सबै जोड्दा हाल विदेशमा ६० लाखदेखि ९० लाख नेपाली छन् । यो भनेको नेपालको कुल जनसंख्याको झन्डै एकतिहाइ हो ।उनका अनुसार, भारतपछि सबैभन्दा धेरै नेपाली युनाइटेड अरब इमिरेट्स (यूएई)मा छ । यूएईमा करिब सात लाख नेपाली छन् । 

परराष्ट्रका अनुसार, साउदी अरेबियामा तीन लाख ८४ हजार, कतारमा तीन लाख ५७ हजार, मलेसियामा तीन लाख ५० हजार, कुवेतमा एक लाख ८५ हजार, जापानमा एक लाख ६० हजार, दक्षिण कोरियामा ७५ हजार नेपाली छन् । अमेरिकामा तीन लाख, अस्ट्रेलियामा करिब दुई लाख, बेलायतमा एक लाख ५० हजार, ओमानमा २५ हजार, बहराइनमा २८ हजार, युरोपका अरू देशमा एक लाख र अफ्रिकी मुलुकमा ३१ हजार ५०० नेपाली छन् । विदेशमा रहेका नेपाली कतिजनाको मतदान गर्ने उमेर पुगेको छ वा मतदाता परिचयपत्र बनाएका छन् भन्ने विवरण कसैसँग छैन । 

निर्वाचन आयोगले यसपालि प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका विवरण सार्वजनिक गरेको छ । यीमध्ये कति स्वदेश र विदेशमा छन् भन्ने विवरण पनि कुनै निकायसँग छैन । विदेशमा रहेका नेपालीलाई मतदानका निम्ति स्वेदश फर्कन सरकारले कुनै कार्यक्रम बनाएको पनि छैन ।  अध्यागमन विभागको तथ्यांकानुसार, २०२६ जनवरीमा सबैभन्दा ठूलो संख्यामा नेपाली क्रमशः यूएई, भारत, कतार, मलेसिया, साउदी अरेबिया, अस्ट्रेलिया, कुवेत, जापान, थाइल्यान्ड, चीन, अमेरिका, बेलायत, दक्षिण कोरिया, हङकङ र सिंगापुरबाट स्वदेश फर्किएका छन् ।

जनवरीमा यूएईबाट २५ हजार १९२, भारतबाट १८ हजार २८५, कतारबाट १६ हजार ९४४, मलेसियाबाट १४ हजार ३४१, साउदी अरेबियाबाट १२ हजार ४३९, अस्ट्रेलियाबाट आठ हजार २२१, कुवेतबाट ६ हजार १७०, जापानबाट पाँच हजार ४४२, थाइल्यान्डबाट चार हजार ७६२, चीनबाट चार हजार ६९, अमेरिकाबाट तीन हजार ५३५, बेलायतबाट तीन हजार ३८४, दक्षिण कोरियाबाट दुई हजार ९६६, हङकङबाट दुई हजार ६८६ र सिंगापुरबाट एक हजार ६५६ नेपाली स्वदेश फर्किएका छन् । २०२६ को फेब्रुअरी १ देखि २५ सम्मको अवधिमा सबैभन्दा ठूलो संख्यामा नेपाली क्रमशः यूएई, भारत, कतार, मलेसिया, साउदी अरेबिया, अस्ट्रेलिया, जापान, कुवेत, थाइल्यान्ड, बेलायत, अमेरिका, हङकङ, दक्षिण कोरिया, चीनबाट स्वदेश फर्किएका विभागको तथ्यांक छ ।

फेब्रुअरीमा यूएईबाट २४ हजार ८८, भारतबाट १८ हजार १३६, कतारबाट १६ हजार २८९, मलेसियाबाट १२ हजार ९१७, साउदी अरेबियाबाट ११ हजार ८९४, अस्ट्रेलियाबाट सात हजार ५७०, जापानबाट पाँच हजार ९१४, कुवेतबाट पाँच हजार ५६९ नेपाली स्वदेश फर्किएका छन् ।यस्तै, फेब्रुअरीमा थाइल्यान्डबाट तीन हजार ७९१, बेलायतबाट तीन हजार १०८, अमेरिकाबाट दुई हजार ७३९, हङकङबाट दुई हजार ५६३, दक्षिण कोरियाबाट दुई हजार २१३ र चीनबाट एक हजार ९६२ नेपाली स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार