काठमाडौं। काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो ।
त्यस्तै दक्षिण यसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । ‘वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन अनुरोध छ’, विभागले सूचना जारी गर्दै भनेको छ ।