यू–१९ महिला विश्वकपमा नेपालद्वारा मलेसिया ७ विकेटले पराजित

Nagarik Sewa 3675+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं। आइसिसी महिला यू–१९ महिला विश्वकप क्रिकेटमा शुक्रबार आयोजक मलेसियालाई ७ विकेटले हराउँदै नेपालले पहिलो जित निकालेको छ। मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान पूजा महतोले नटआउट रहँदै ३२ बलमा चार चौकासहित सर्वाधिक २३ रन बनाइन् ।

मलेसियाका लागि बलिङमा मार्सियाले चार ओभरमा १८ रन दिएर तीन विकेट लिइन् । त्यसअघि जोहर क्रिकेट एकेडेमीमा टस हारेर ब्याटिङको मौका पाएको मलेसिया १६।५ ओभरमा ४५ रनमा अलआउट भयो । उसका लागि नुरिमनले सर्वाधिक १५ रन बनाइन् । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । आयोजक मलेसियालाई सस्तैमा समेट्नेक्रममा कप्तान पूजा महतोले घातक बलिङ गरिन् । 

उनले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । योसँगै पूजा जारी विश्वकपमा सर्वाधिक विकेट लिने सूचीको नम्बर वानमा उक्लिएकी छन् । उनले चार खेलमा ९ विकेट लिएकी छन् । 

यस्तै, मलेसियाविरुद्ध रचना चौधरीले तीन ओभरमा एक मेडनसहित ५ रन दिएर तीन विकेट लिइन् । यस्तै, रिया शर्माले ४ ओभरमा एक मेडनसहित ५ रन दिएर एक विकेट हात पारिन् । यस्तै, सीमाना केसीले ४ ओभरमा ९ रन दिएर एक विकेट लिइन् । समूह चरणमा नेपालले तीनवटै खेलमा हार बेहोरेको थियो । नेपालले समूह चरणमा बंगलादेशसँग ५ विकेट, स्कटल्याण्डविरुद्ध एक विकेट तथा अस्ट्रेलियासँग ८३ रनको हार बेहोरेको हो ।   


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार