काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता फस्टाएको बताएका छन् । आइतबार (फागुन १०) सप्तरीमा चुनावी अभियानका क्रममा उनले भने, “संघीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रिकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ । तर, मधेस जागरुक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन् ।”
यही फागुन २१ गते हुने निर्वाचनमा सप्तरी क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार समेत रहेका उनले केही शक्ति संघीय व्यवस्थालाई कमजोर पार्ने षड्यन्त्रमा लागेको आरोप लगाए ।
“मुलुकमा संघीयता धानिएकै मधेस प्रदेशको दृढ अडानको कारणले हो । मधेसले आवाज उठाएन भने संघीयता केवल कागजमा सीमित हुनेछ,” उनले भने, “अधिकारको रक्षा गर्न मधेस सधैँ अग्रपंक्तिमा उभिएको छ ।” उनले अगाडि भने, “मधेस कमजोर भयो भने संघीयता रहँदैन । त्यसैले मधेसलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको अपरिहार्य आवश्यकता हो ।”