हरेक मंगलवार,
हरेक गणेश मन्दिर वरीपरी,
भिडभाड देख्छु ।
त्यही बाटो सयौं चोटी अरुबेला हिड्ँदा कहिले,
टाउकोसम्म निहुराउन फुर्सद नभएकाहरुलाई,
मंगलबार चाँही पूजा गर्ने लाईनमा मन्त्र जप्दै गरेको भेट्छु ।
ब्यापारीको अड्डा जम्छ,
हप्ताको एकै दिन सही,
हो तेही दिन मान्छेको आस्था,
टपरीको फुल अनी मिठाइसँग तौलिइन्छ,
मोलमलाई गरिन्छ अनी बिक्री गरिन्छ ।
बिचरा गणेशजी त्यसरी ल्याएका चिज बिजको,
हिसाब राख्ने भए त त्यो पनि ठिकै हो,
नत्र त त्यो देखावटी धर्म नि खेरै गयो ।
आफुलाई केही किन्दा,
हजार पल्ट सामान ओल्टाइ पल्टाइ किन्ने,
त्यही मान्छे गणेशजीलाई चडाउने प्रसाद चैँ,
जे सुकैले जहिले सुकै बनेको होस् ,
केही वास्ता गर्न जरुरी ठान्दैन ।
गणेशजीको मुर्ति वरिपरि
यसरी पैसा चडाउँछन् तिनै भक्तहरु,
लाग्छ तेही पैसा बटुलेर गणेशजी बेलुकाको रासन,
किनेर घर फर्किदा हुन ।
गणेशजीको मुखमा मिठाइ जबर्जस्ती हुल्नेहरुको पनि,
जमात छुटै हुन्छ त्यो दिन ।
तेस्तै रहर हुने हो आफ्नो प्रिय भगवानप्रति भने,
आज सम्म गणेश भगवानलाई चिनी रोग लाग्यो होला,
बर्षौं देखी लड्डु खाएर भनेर सुगर फ्री लड्डु,
चडाउने भक्त अहिलेसम्म न देखेको छु न त ,
सुनेको नै छु ।
ती भक्तहरुको गणित मैले कहिले बुझिन,
इच्छा अनुसारको मिठाइ:
कसैको आठ, कसैको एक्काइस त कसैको एकसय आठ ।
तर यी तिनै भक्तहरु हुन जस्ले,
कती दिन देखी खान नपाएका जीवित मान्छेको
मुख भने मन्दिरको गेटै भन्दा केही मिटरको दुरीमा कहिले देख्दैन ।
मन्दिरकै छेउमा दियो अनी बत्ती बाल्नेको अर्को लर्को हुन्छ ।
दियो भरी तेल हालेर यती धेरै दियो बलेका हुन्छन् कि,
सर्दीमा त गणेशजीलाई ठिकै होला,
तर गर्मीमा ??
गर्मीमा त्यो रापले कती गाह्रो होला गणेशजीलाई,
कती छटपटाउदा हुन, कती पोल्दा हुन् ति रापले गणेशजीका आँखाहरु ।
कनिकाहरु यसरी छरिन्छन त्यस दिन,
मानौ त्यो चामलका कनिकाहरुको केही मुल्य नै छैन ।
अनी ति चामलमा अरुमा जस्तै किसानको पसिना परेको नै छैन ।
भिजेर पानी, अबिर अनी केशरी,
जीवन जोगाउन सक्ने अमृत समान दाना कुहिन्छ्न्,
यस्तै त होला हाल सबै तिर,
वस् दिन फरक, पुजिने मूर्ति फरक ।
अनिश खतिवडा, भक्तपुर