काठमाडौं। आइसिसी विश्वकप लिग २ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डमाथि नेपालले ६ विकेटको सानदार विजय हासिल गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा सोमबार १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा लक्ष्य पूरा गरेको हो।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर नटआउट रहे । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । इशान ६१ बलमा ५५ रन बनाएर आउट भए । उनले ५ चौका र २ छक्का प्रहार गरे । त्यसअघि ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५८ रनको ओपनिङ साझेदारी गरेका थिए । कुशल २८ र आसिफ २९ रनमा आउट भए । त्यसपछि नेपालको ब्याटिङ रोहित र इशानले सम्हालेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे । बलिङमा स्कटल्याण्डका मार्क वाटले २ र ब्रेन्डन म्याकमुलेनले एक विकेट लिए ।
बलिङमा नेपालका स्पिनर ललित राजवंशी घातक बने । लामो समय विकेटविहीन बनेका ललितले स्कटल्याण्डविरुद्ध ४ विकेट लिए । सन्दीप लामिछाने ३, नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरी एकएक विकेट लिए ।