पाथीभरा दर्शनमा जाँदै गरेको बोलेरोमा आगलागी हुँदा ४ जनाको मृत्यु

Nagarik Sewa 4431+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

ताप्लेजुङ। पाथीभरा दर्शनका लागि जाँदै गरेको एक बोलेरोमा फुङलिङ नगरपालिका १० स्थित सडक खण्डमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बिजुलीको तार झरेर मे १ ज ३०११ गाडीमा आगो लागेको थियो । 

घटनामा २ जना घाइते रहेका छन् । उनीहरुलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले बताए । एसएसपी दाहालका अनुसार ललितपुरको ललितपुर महानगरपालिका १० बस्ने ४५ वर्षीया सबिना आचार्यको अवस्था गम्भीर रहेको छ भने उनका छोरा १० वर्षीय भविमय आचार्यको अवस्था मध्यम रहेको छ ।

मृत्यु हुनेमा आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापा भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, पौडेलकी श्रीमती ६९ वर्षीया सरिता पौडेल र गाडीका चालक ताप्लेजुङ फुङलिङ नगरपालिका १० बस्ने ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् । कसरी गाडीमा बिजुलीको तार खस्यो भन्ने कुराको अनुसन्धान भइरहेको एसएसपी दाहालको भनाई छ ।

आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले बताए । सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै