काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले निजी क्षेत्रलाई केवल आश्वासन र प्रतिबद्धता मात्र नभई काम गर्ने ठोस वातावरण आवश्यक रहेको बताएका छन् । निजी क्षेत्रद्वारा आयोजित एक कार्यक्रममा बोल्दै सांसद दुलालले देशको समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे । सांसद दुलालले उद्योगी र व्यवसायीहरूका लागि मुख्य कुरा नीतिगत स्थायित्व भएको उल्लेख गरे । वातावरण निर्माणको अर्थ स्पष्ट पार्दै उनले अर्थतन्त्रको आकार वृद्धि गर्न, उत्पादन बढाउन, करको दायरा विस्तार गर्न र आयातलाई निरुत्साहित गर्न राज्यले केन्द्रमा रहेर सोच्नुपर्ने बताए ।
आन्तरिक उत्पादन र स्वदेशी उद्यमीहरूलाई प्रोत्साहन गर्नु नै राज्यको मुख्य दायित्व हुने उनको भनाइ छ । निजी क्षेत्रले भोगिरहेका चुनौतीहरूप्रति आफ्नो सहानुभूति रहेको बताउँदै उनले भू–राजनीतिक अवस्थाका कारण सिर्जित अप्ठ्याराहरूबारे आफू जानकार रहेको बताए ।
"इतिहासमै पहिलो पटक जनताले देश बनाउनका लागि स्पष्ट जनमत दिएका छन् । यो अवसरलाई सदुपयोग गर्दै सरकारले देश निर्माणमा लाग्नुपर्छ । हामीलाई आश्वासन होइन, वातावरण चाहिएको हो । तत्कालै गर्न सकिने सुधारहरू र दीर्घकालीन रूपमा राज्यको प्रतिबद्धता नै आजको आवश्यकता हो," उनले भने ।
उनले निजी क्षेत्रले उठाएका मागहरू सही रहेको र ती सवालहरूलाई सदनमा प्रभावकारी ढंगले उठाउने प्रतिबद्धता समेत व्यक्त गरे । कानुन निर्माण र संशोधनको समयमा निजी क्षेत्रको हितमा आवाज उठाउने र उनीहरूलाई हौसला प्रदान गर्ने उनले बताए ।


