अमेरिकामा ४२ दिन लामो सटडाउन अन्त्य हुने चरणमा

Nagarik Sewa 4298+ समाचार ( )
२६ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं ।  अमेरिकामा ४२ दिन लामो सटडाउन अन्त्य हुने चरणमा पुगेको छ । सोमबार राति अमेरिकी सिनेटका सांसदहरूले ६०–४० ले सटडाउन अन्त्य गर्ने विचाराधीन खर्च विधेयकलाई हरियो झन्डा देखाएका छन् । त्यसपछि अमेरिकाको इतिहासमै सबैभन्दा लामो सटडाउन औपचारिकरूपमा समाप्त हुनेछ ।

अब यो खर्च विधेयक स्वीकृतिका लागि प्रतिनिधिसभा (कंग्रेस) मा सर्नेछ । त्यसपछि सटडाउनलाई समाप्त गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्ताक्षरका लागि जानेछ । हाउसका सभामुख माइक जोनसनले यसलाई बुधबार जतिसक्दो चाँडो पारित गर्न चाहेको बताएका छन् । उनले मतदानमा भाग लिन विधायकहरूलाई तत्काल वासिङ्टन डीसी फर्कन आह्वान गरेका छन् ।

सिनेटमा भएको मतदान सांसदहरूबीच भएको लगातारको वार्ताको परिणाम थियो । जहाँ सात डेमोक्र्याट र एक स्वतन्त्र सांसद सटडाउन अन्त्य गर्नका लागि अद्यावधिक गरिएको खर्च प्याकेजको पक्षमा मतदान गर्न सहमत भएका थिए । सटडाउन मंगलबार ४२औँ दिनमा प्रवेश गरेको छ ।यस सहमतिमा कृषि मन्त्रालय र खाद्य तथा औषधि प्रशासन, सैन्य निर्माण परियोजना, सेनानिवृत्त मामिला र कंग्रेसका कार्य सञ्चालनहरूका लागि तीन वर्षको कोष विनियोजन पनि समावेश रहेको बताइएको छ ।

तथापि, यो द्विपक्षीय सम्झौताले सटडाउनको सबैभन्दा केन्द्रीय मुद्दाहरूमध्ये एक अफोर्डेबल केयर एक्ट अन्तर्गत करिब २४ मिलियन अमेरिकीहरूलाई लाभ पुर्‍याउने स्वास्थ्य सेवा अनुदान विस्तार गर्ने विषयलाई समाधान गर्दैन । ‘अफोर्डेबल केयर एक्ट’माथि डिसेम्बरमा मतदान गराउने सर्त राखिएको र यसमा सांसदहरू सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सटडाउन अन्त्य गर्ने विधेयकको समर्थन गर्दै भने, “हामी चाँडै नै आफ्नो देश फेरि खोल्दैछौँ ।”

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार