राप्ती नगरपालिका-१३, चितवन । चेपाङ समुदायमा स्वास्थ्य अवस्था सुधार, सरसफाइ व्यवहार प्रवर्द्धन तथा सामाजिक चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित सल्भ नेपाल (SOLVE Nepal) द्वारा सञ्चालित ‘स्वच्छता, सरसफाइ र स्वास्थ्य व्यवहारमा सुधार’ कार्यक्रम सम्पन्न भएको छ। NCELL Foundation को सहयोग तथा राप्ती नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको यस कार्यक्रमले समुदायभित्र रहेका स्वास्थ्य, सरसफाइ र सामाजिक व्यवहारसम्बन्धी चुनौतीलाई पहिचान गर्दै स्थानीय सहभागिता र नेतृत्वमार्फत दीगो परिवर्तन ल्याउने लक्ष्य राखेको थियो।
कार्यक्रमअन्तर्गत २०८२ मंसिर १७ देखि २१ गतेसम्म REFLECT (Reflective Learning Approach) विधिबाट सहजकर्ता तालिम सञ्चालन गरिएको थियो। तालिममा चेपाङ समुदायसँग प्रत्यक्ष जोडिएका स्थानीय महिला तथा पुरुष गरी पाँच जना सहभागीलाई सहजकर्ताका रूपमा तयार गरिएको थियो। तालिममा सहभागीहरूले स्वास्थ्य सचेतना, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइ, सुरक्षित व्यवहार, लैंगिक समानता, बालविवाह न्यूनीकरण तथा समुदायमा सकारात्मक सामाजिक परिवर्तन ल्याउने विषयमा ज्ञान तथा सीप हासिल गरेका थिए।
तालिमपछि स्थानीय सहजकर्ताहरूले आफ्नै समुदायमा पुगेर महिला, पुरुष तथा विद्यालय उमेर समूहका बालबालिकासहित कम्तीमा २५ जना समुदाय सदस्यलाई विभिन्न सचेतनामूलक सत्रमार्फत स्वास्थ्य र सरसफाइसम्बन्धी जानकारी प्रदान गरेका थिए। REFLECT विधिले समुदायलाई केवल सूचना दिने मात्र नभई आफ्नै समस्या पहिचान गर्ने, छलफल गर्ने र समाधानका उपाय खोज्ने अवसर प्रदान गरेको थियो।
कार्यक्रमको प्रभाव र प्रगतिबारे अनुगमन तथा सहजीकरण गर्न २०२६ फेब्रुअरी १० मा SOLVE नेपालको टोली राप्ती नगरपालिका–१३ को गुम्दी क्षेत्रमा पुगेको थियो। टोलीले तालिमपछिका गतिविधि, सहजकर्ताहरूको सक्रियता, समुदायको सहभागिता तथा व्यवहारमा देखिएका परिवर्तनको अवस्थाको अवलोकन गरेको थियो। अनुगमनका क्रममा समुदायमा सरसफाइप्रतिको धारणा परिवर्तन हुँदै गएको, व्यक्तिगत स्वच्छता, घरआँगन सफाइ तथा स्वास्थ्यसम्बन्धी व्यवहारमा सुधारका संकेत देखिएको पाइएको थियो। साथै बालविवाहजस्ता सामाजिक समस्याबारे समुदायमा छलफल र सचेतना बढ्दै गएको तथा बालबालिकाको शिक्षा र भविष्यप्रति सकारात्मक सोच विकास हुँदै गएको देखिएको थियो।
कार्यक्रमबारे राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले समुदायस्तरमा सञ्चालन हुने यस्ता अभियानहरूले स्थानीय समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले स्वास्थ्य र सामाजिक सुधार केवल पूर्वाधार निर्माणबाट मात्र नभई समुदायको चेतना र व्यवहार परिवर्तनबाट सम्भव हुने उल्लेख गर्दै स्थानीय सहभागितामा आधारित कार्यक्रमलाई नगरपालिकाले प्राथमिकता दिने बताउनुभयो।
“समुदाय आफैं सचेत र जिम्मेवार भएमा मात्रै दीगो परिवर्तन सम्भव हुन्छ। चेपाङ समुदायमा स्वास्थ्य, सरसफाइ र सामाजिक विषयमा आएको जागरण सकारात्मक सुरुवात हो,” मेयर लामाले भन्नुभयो। स्थानीय सहभागी सन्तराम प्रजाले तालिमले समुदायमा सरसफाइ र स्वास्थ्यबारे सोच्ने तरिका परिवर्तन भएको बताउनुभयो। उहाँले पहिले सामान्य रूपमा लिइने सरसफाइका विषयहरू अहिले दैनिक व्यवहारसँग जोडिन थालेको र परिवार तथा समुदायमा यसबारे छलफल हुन थालेको बताउनुभयो।
उहाँका अनुसार, “तालिमपछि हामीले आफ्नो घर र समुदाय सफा राख्नुका साथै बालबालिकाको स्वास्थ्य र भविष्यका विषयमा पनि बढी ध्यान दिन थालेका छौं। यस्ता कार्यक्रमले हामीलाई आफैं परिवर्तनको नेतृत्व गर्न प्रेरणा दिएको छ।”
स्थानीय सहभागी कुमारी प्रजाले महिलाहरूको सहभागिताले समुदायमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। उहाँले स्वास्थ्य, सरसफाइसँगै बालविवाह न्यूनीकरणका विषयमा भएको छलफलले अभिभावक र युवाहरूमा नयाँ सोच विकास भएको उल्लेख गर्नुभयो। “बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा असर गर्छ भन्ने कुरा समुदायले बुझ्दै गएको छ। यस्ता सचेतना कार्यक्रमले निर्णय क्षमता बढाउन सहयोग गरेको छ,” उहाँले भन्नुभयो।
त्यस्तै स्थानीय प्रतिनिधि विकास श्रेष्ठले REFLECT विधिको विशेषता नै समुदायलाई आफैं सिक्ने, समस्या पहिचान गर्ने र समाधानमा सहभागी बनाउने भएको बताउनुभयो। उहाँले स्थानीय सहजकर्तामार्फत सञ्चालन गरिएको अभियानले समुदायभित्रैबाट नेतृत्व विकास गर्न सहयोग गरेको उल्लेख गर्नुभयो। कार्यक्रमका क्रममा REFLECT सहजकर्ता सोनालाल चौधरी ले तालिमबाट प्राप्त ज्ञानलाई समुदायमा व्यवहार परिवर्तनका लागि प्रयोग गरिएको बताउनुभयो। उहाँले समुदायका महिला, पुरुष र विद्यार्थीहरूसँग नियमित छलफलमार्फत स्वास्थ्य, सरसफाइ र सामाजिक विषयमा चेतना फैलाउने काम गरिएको जानकारी दिनुभयो।
SOLVE नेपालका प्रतिनिधिहरूले यस कार्यक्रमले चेपाङ समुदायमा स्वास्थ्य सचेतना, सरसफाइ अभ्यास, सामाजिक सुधार र स्थानीय नेतृत्व विकासको आधार तयार गरेको बताएका छन्। साना प्रयासबाट ठूलो परिवर्तन सम्भव हुन्छ भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको यो पहलले समुदायलाई थप स्वस्थ, सचेत र सशक्त बनाउने विश्वास लिइएको छ। SOLVE नेपालले आगामी दिनमा पनि स्थानीय समुदायको आवश्यकता र सहभागितामा आधारित यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ।