माधव नेपाललाई रामकुमारी झाँक्रीले भनिन्– लोकले के भन्ला भन्ने लागेन ?

Nagarik Sewa 4202+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । नेत्री रामकुमारी झाँक्रीले तत्कालीन नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं नवगठित नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालप्रति तिखो कटाक्ष गरेकी छन् । आफूहरूमाथि गरिएको भनिएको कारबाहीप्रति उनले व्यंग्य गरेकी हुन् ।

नेकपा (माओवादी केन्द्र)लगायत दल/समूहसँग मिलेर नेपाली कम्युनिस्ट पार्टी बनाउनुअघि एकीकृत समाजवादीका अध्यक्ष नेपालले झाँक्रीसहित पार्टीका केही नेतालाई कारबाही गरेका थिए । पार्टी सदस्य नरहने गरी उनीहरूलाई कारबाही गरिएको थियो । पार्टी निर्णय नमानेको भन्दै गरिएको कारबाहीप्रति शुक्रबार (कात्तिक २१) बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत झाँक्रीले कटाक्ष गरेकी हुन् । उनले लेखेकी छन्, “प्रिय कमरेड माधव, अभिवादन ! आफ्नै बेइज्जती हुने कारबाही त नगरेको भए पनि हुने कमरेड ? केही अर्थ छ र अब पनि कारबाहीको ? लोकले के भन्ला भन्ने पनि लागेन र ?”

उनले नेता नेपाल सबै कालखण्ड गरेर १९ वर्ष पार्टी प्रमुख भएका पनि उल्लेख गरेकी छन् । आफूहरूलाई गरिएको कारबाहीप्रति व्यंग्यात्मक रूपमा उनले ‘हार्दिक धन्यवाद यो अन्तिम कर्मको लागि’ भनेकी छन् ।

उनले नेता नेपाल जहाँ भए पनि आफूले सधैँ अभिभावकका रूपमा सम्झने जनाएकी छन् । “बाँकी जीवनको सुखद होस्, परिवारमा शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना,” झाँक्रीले लेखेकी छन्, “तपाईं जहाँ रहे पनि हाम्रो अभिभावको हो । मैले यसरी सधैँ सम्झनेछु ।” नेपाली कम्युनिस्ट पार्टीमा समाहित नभएका झाँक्रीसहित केही नेता नेकपा (एमाले)मा फर्कने तयारीमा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार