काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले उपाध्यक्ष गुरुप्रसाद बरालले अध्यक्ष ओलीसहित पूर्वगृहमन्त्री रमेश लेखकमाथिको मुद्दा फिर्ता गर्न माग गरेका हुन् ।
ओली-लेखकमाथि गलत ढंगले मुद्दा लगाउने कदम सैह्य नहुने उनको भनाइ छ । एकै घटनामा मुछिएकालाई सरकारले फरक-फरक व्यवहार गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् सरकारले नेपालको संविधान र विधिको शासन उल्लंघन गर्दै अघि बढेको उनको आरोप छ । संविधानप्रदत्त नागरिक हकको रक्षा गर्न उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।''नेपालको संविधान र विधिको शासन आज देशभर उल्लंघन भइरहेको छ । यो उल्लंघनको अधिकार सरकारलाई छैन । संविधान प्रदत्त नागरिकको मौलिक अधिकारहरूलाई स्थापित गर्नका लागि म निर्देशनका लागि अनुरोध गर्दछु,'' उनले भने ।
ओली-लेखकमाथिको मुद्दा खारेजयोग्य रहेको उनको भनाइ छ । ''राष्ट्रसेवक र राजनीतिज्ञमाथि फरक-फरक नजिर स्थापित गर्न खोजिँदैछ । यसप्रति म गम्भिर आपत्ति व्यक्त गर्दछु । यी मुद्दा खारेजयोग्य छन्,'' उनले भने । ओली र लेखकलाई सर्वोच्च अदालतले सशर्त रिहाका लागि परमादेश दिएको छ । सर्वोच्चले फागुन २५ गतेभित्र मुद्दा अभियोजन नभएर २६ गतेबाट हिरासतमुक्त गर्न आदेश दिएको हो ।